Sunday, November 2

संविधान संशोधनमा अधिकतम सहमति खोजिनेछ : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन् ।

Advertisement

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि अधिकतम सहमति खोज्ने उनको भनाइ छ ।

Advertisement

उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे ।

उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरेर सरकारको कार्यक्रम आएको बताए ।

प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दैै अघि बढ्ने धारणा राखे ।

त्यस्तै, उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने स्पष्ट पारे ।

सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।