
नेपालअखबार,काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्।
यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
आइतबार सामाजिक संजाल एक्समा लेख्दै जेलेन्स्कीले सो प्रस्तावको स्वागत गरेका छन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘रूसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न सुरू गरेको कुरा एक सकारात्मक संकेत हो’ भनेका छन्।
साथै उनले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए।
बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले शुक्रबार किभमा जेलेन्स्कीसँग भेटेपछि ३० दिने युद्धविरामको प्रस्ताव गरेका थिए। उनीहरूले सोमबार सम्ममा सो प्रस्ताव कुनैपनि शर्त नराखी स्वीकार गर्न रूसलाई आग्रह गरेका थिए।
पुटिनले भने सो प्रस्ताव अस्वीकार गर्दै बरू युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। पुटिनको सो प्रस्तावको स्वागत गरे पनि जेलेन्सकीले तत्काल युद्धविरामको पनि माग गरे।
‘विश्वले यो कुराको लागि धेरै लामो समयदेखि प्रतीक्षा गरिरहेको छ। र कुनै पनि युद्धलाई साँच्चै समाप्त गर्ने पहिलो कदम भनेको युद्धविराम हो। एक दिन पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन। हामी रूसले भोलि, मे १२ देखि पूर्ण, दिगो र विश्वसनीय युद्धविराम गर्नेछ भन्ने अपेक्षा गर्छौं। अनि युक्रेन वार्ताका लागि तयार छ,’ उनले एक्समा लेखेका छन्।
त्यसअघि पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गर्दै त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्कीका राष्ट्रपति रजिप तयिप अर्दोगानलाई भनेको पनि बताएका थिए। अर्दोगान रूस-युक्रेन युद्धविरामको पहलका लागि तयार भएको पनि पुटिनले जानकारी दिएका थिए।


