
नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो बिग्रिएको सम्बन्धबारे खर्बपति व्यापारी एलन मस्कले प्रतिक्रिया दिएका छन् । ट्रम्पबारे गरेका केही पोष्टप्रति मस्कले सामाजिक सञ्जालमार्फत पछुतो जनाएका हुन् ।
सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहँदा दुवैले एक अर्काले भन्न हुने नहुने सबै कुरा भनेका थिए । मस्कले ह्वाइट हाउसमा आफ्नो जिम्मेवारी त्यागेपछि ट्रम्पसँगको उनको सम्बन्ध जगजाहेर भएको थियो । ट्रम्पको कर विधेयकलाई मस्कले घृणित भनेका थिए ।
बुधबार न्यूयोर्क पोष्टसँगको एउटा अन्तरवार्तामा ट्रम्पले मस्कसँग सम्भावित मेलमिलापको कुरा गरेपछि मस्कको पछिल्लो पोस्ट आएको हो । दुई जनाको सम्बन्ध बिग्रिएको देखेर आफू केही निराश बनेको तर उनीप्रति आफ्नो मनमा कुनै कटुता नभएको ट्रम्पले भनेका थिए । आफ्ना बारेमा जे जे बोले त्यसप्रति मस्क आफैँलाई पनि नराम्रो लागिरहेको होला भनेर ट्रम्पले भनेका थिए ।


