Sunday, November 2

विपद संकटग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गरिनेछ: प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा युद्धस्तरमा सिँचाइ, डिप बोरिङ लगायतका काम गरिने बताएका छन्।

Advertisement

बुधबार प्रतिनिधि सभाको बैठकमा प्रश्नको जबाफ दिँदै उनले मधेस प्रदेशलाई संकटग्रस्त घोषणा गरेको बताएका हुन्।

Advertisement

उनले अब संकटग्रस्तको घोषणा भएसँगै बजेटको पनि चाँडै नै व्यवस्था गर्न सकिने बताएका हुन्।

‘यहाँ आउनुभन्दा अगाडि म क्याबिनेट बैठक बसेर मधेस प्रदेशलाई प्रकृतिक विपत्तिग्रस्त क्षेत्र भन्ने निर्णय गरेर आएको छु। अब त्यहाँ सामग्री चाहियो भने पनि आपतकालीन ढंगले बजेटको पनि व्यवस्था गर्न सकिनेछ,’ उनले भने, ‘त्यसैगरी खरिद प्रक्रियाबाट डिप बोरिङ गर्न टेन्डरमार्फत धेरै समय लाग्छ।’

खानेपानीबिना कोही पनि बाँच्न नसक्ने बताउँदै उनले कोही पनि अलपत्र पर्नुनपर्ने बताए।

‘र म आश्वस्त पार्न चाहन्छु। खानेपानीबिना कोही पनि बाँच्न सक्दैन। त्यहाँ अलपत्र पर्ने छैन। त्यसको डिप बोरिङ सिँचाइका प्रबन्ध युद्धस्तरमा गरिनेछ,’ उनले भने। सरकारले दीर्घकालीन योजनाहरू समेत बनाउने पनि उनले बताए।

‘केही समयभित्रै तत्कालका लागि, अलिक समय र लामो समयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ; नदीबाट पानी ल्याउनेदेखि गण्डक नहर सञ्चालन स्तरोन्नति के गर्न सकिन्छ। चुरे क्षेत्रमा पोखरी निर्माण गर्ने लगायत दीर्घकालीन उपायहरू अवलम्बन गरिनेछ,’ उनले भने।

उनले मधेस प्रदेशको समस्या समाधानका लागि नेपाली सेना नै परिचालन गर्नुपरेपनि गरिने बताए।