Sunday, November 2

नेपाल र थाइल्याण्डबिच सांस्कृतिक समानताहरू छन् : परराष्ट्र मन्त्री

नेपालअखबार, काठमाडौँ  । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्यान्डका बिचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छन् । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबिच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबिचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेका बताइन् ।

मन्त्री राणाले दुई देशका बिचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समृद्धिलगायत समानताहरू रहेका चर्चा गरिन् ।

Advertisement

पर्यटन दुई देशका बिचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा.राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् ।

Advertisement

नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरिन् ।

नेपाल र थाइल्यान्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा.राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्यान्डको भ्रमण गर्नुभएको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएका स्मरण गरिन् ।

सो भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनेको जनाउँदै उनले आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरूलाई निरन्तरता दिनुपर्ने पनि उनले बताए । नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपर मार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो ।