प्रदेश ६प्रशासनसमाचार

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

नेपाल अखार, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड, नजिकिँदै गरेका चाडबाड र समुदायस्तरमा संक्रमण पुग्न थालेपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
‘समुदायस्तरमा संक्रमण देखिएपछि ‘कन्ट्रयाक ट्रेसिङ्ग’ गर्न कठिन भएको छ । नागरिकको अटेरीका कारण पनि जोखिम बढेको छ । त्यसैले निषेधाज्ञा जारी गर्नको विकल्प रहेन,’ उनले भने ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने उनले बताए ।
कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा आज बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
भेरीगंगा नगरपालिकाका बजार बन्द
कोरोनाको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि आजदेखि बन्द गरिने भएको छ ।
नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आज साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने उपप्रमुख रेनु आचार्यले जानकारी दिइन ।
प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ
जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पीसीआर रिपोर्ट हेरिनेछ ।
प्रदेशभरका मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेण्ट पूर्णरूपमा बन्द गर्ने निर्णय पनि प्रदेश सरकारले यसअघि नै गरिसकेको छ ।
निषेधाज्ञा अवधिमा के–के खुल्छन् ?
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।
त्यस्तै स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् ।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन ।
एम्बुलेन्स, शववाहन, दमकल, भीआईपीका झण्डासहितका गाडी, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन पनि निषेधाज्ञा अवधिमा चलाउन पाइने प्रशासनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

the authoradmin

Leave a Reply