नेपालअखबार, काठमाडाैं । आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ।
कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।
कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ।
पढ्नुस् कागबारे यो सामग्री:
चराहरूको ‘डन’ले चिन्छ झटारो हान्ने मान्छे
काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।
हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।
काग र हामी मान्छेबीच धर्मको मात्रै सम्बन्ध छ त?
हामीले यसबारे चराविद् डा. हेमसागर बरालसँग सोधेका छौं। उनले कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाए। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।
बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो।
‘काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,’ चराविद् बराल भन्छन्, ‘कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।’
उनले सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्दा कागसँगको अनुभव सुनाए।
बरालसँग खानेकुरा थियो। कागले थाहा पायो र पछि लाग्यो। उनको वरिपरि उड्दै–उफ्रिँदै काँ..काँ.. गर्न थाल्यो। चराबारे अध्ययन गरिरहने बरालले सोचे– यसले के भन्न खोज्दैछ?
‘मसँग भएको बिस्कुट दिएँ। मैलेभन्दा छिटो खाइसक्यो र फेरि आयो। चार पटकसम्म यसो गरेपछि म कागको पछिपछि गएँ। थाहा पाएँ, उसले त बिस्कुट नखाई माटोमुनि गाडेको पो रहेछ,’ उनले सुनाए। उनका अनुसार ‘खाद्य भण्डार’बारे उनले थाहा पाएपछि कागले त्यही ठाउँमा फेरि लुकाएन।
त्यस्तै सगरमाथा क्याम्पमा बस्दा कागले बिर्को फुटाएर जाम खाएछ। हामीलाई खोल्नै हम्मे पर्ने बिर्को कागले प्वालै पार्न सक्नेरहेछ। यो घटनाबाट उनले थाहा पाए– ‘चराको धन चुच्चो’ त्यसै भनिएको रहेनछ।
कागका यी बानी थाहा पाएपछि उनी अर्को कुरामा पनि निश्चित भए– कागको सम्झने क्षमता अरू चराकोभन्दा तेज हुन्छ। कागले आफ्ना वरपरका मान्छे चिन्छ। अझ दस जनासम्म गणना पनि गर्नसक्छ।
बरालका अनुसार कागले माया गर्ने र नगर्ने मान्छे पनि चिन्नसक्छ। मान्छेको हाउभाउ, आवाज, बाहिरी आवरण सजिलै पहिचान गर्नसक्छ। समुदायबाहिरको मान्छे देख्यो भने कराएर संकेत गर्छ। काग कराएको आवाज सुनेर कोही पाहुना आउँदैछन् भन्ने लख काट्ने चलनका पछाडि यही कारण हुनसक्ने उनको अनुमान छ।
मान्छेसँग कसरी नजिक हुने र फाइदा लिने, कुन समयमा मान्छेले आफूलाई सहयोग गर्छ, यी सबै कागले सजिलै अनुमान लगाउन सक्ने उनी बताउँछन्।
कागको आनीबानी बताउँदै उनले सुनाए, ‘मेरो एकजना साथीले हरेक बिहान ६ बजे कागलाई पाउरोटी दिन्थ्यो। महिनौं बितेपछि कागहरू त्यो घर, मान्छे र छतसँग परिचित भए। कुनै दिन उठ्न ढिला हुँदा कागको झुन्ड घरै घेरेर कराएर उत्पात् गर्न थाले। गमला नै फुटाउनेसम्म पनि गर्थे।’
यसले खाना दिन्छ भन्ने थाहा पाएपछि त्यो मान्छे र घरसँग काग आत्मीय बन्ने रहेछ। घरका सन्तानझैं मात्तिन्छ र पुलपुलिन्छ पनि। सधैं धपाउने, खाना नदिने भए काग पक्कै पनि नआउने बरालको भनाइ छ।
सामान्यतया नेपालमा पाइने घरकाग, वनकाग, टेमु, टुंगा र राजाकाग हुन्। यीमध्ये हामीले वरपर देख्ने घाँटी फुस्रो भएको घरकाग हो। निख्खर कालो देखिने वनकाग। टेमु कागको खुट्टा रातो र चुच्चो पहेँलो हुन्छ भने टुंगाको चुच्चो र खुट्टा दुवै रातो हुन्छ। राजाकाग घरकागभन्दा दुई गुणा ठूलो हुन्छ। उपल्लो हिमाली भेग राजाकाग देख्न सकिने उनी बताउँछन्।
सानो आकार तर धेरै संख्यामा पाइने घरकाग काठमाडौं उपत्यकामा मात्रै लाखौं भएको बराल अनुमान गर्छन्। घरकागले हावापानी र मान्छेको बस्तीका आधारमा बासस्थान तय गर्छन्। अन्य चराजस्तो घुमफिरमा निस्कने बानी कागको हुँदैन।
काठमाडौं उपत्यकामा बस्ती बाक्लिँदै जाँदा पशुपंक्षी र जनावरको संख्या घट्दै गएको छ। कागको हकमा विपरीत हुन्छ।
‘काग मान्छे नजिक हुन खोज्छ र बाक्लो बस्तीमै घुलमिल हुन्छ। कागले आफ्नो वरपरको वातावरण सहजै स्वीकार्न पनि सक्छ। परिस्थितिसँग अपडेट भइरहन्छ। अरू साना चरा भने कागजसरी आफूलाई समयानूकुल बनाउन सक्दैनन्,’ बरालले भने।
काग फोहोरी पनि हुन्छ। फोहोरको थुप्रोमा हेर्यौं भने सबभन्दा धेरै काग नै देखिन्छ। दिसापिसाब, खकार, सिनोदेखि मान्छेले दिएका वा फालेका खाना, मासु सबै खान्छ। तर फोहोर खाने भएकैले वरपर सफा राख्न कागले मद्दत पुगेको पनि डा. बरालको बुझाइ छ।
कागले ठुङ्दा वा छुँदा अशुभ हुन्छ भन्ने चलन पनि फोहोरी चिज खाने भएकैले मानिएको हुनसक्ने उनको तर्क छ। ‘खुट्टा, चुच्चोमा फोहोरका कीटाणु हुन्छन् र मान्छेमा सरेर रोग लाग्ला भन्ने हुनसक्छ,’ उनले भने। तर कागबाट रोगै लागेको हामीले सुनेका छैनौं।
कागले बालीनालीका कीराफट्यांग्रा नष्ट गरिदिनेदेखि खतराको संकेतसम्म दिन्छ।
‘सानो बस्तीमा बाघ आयो भने मान्छेलाई थाहा नहुनसक्छ। तर कागले चाँडै थाहापाउँछ र कराएर हल्ला मच्चाउँदै हाम्रो ध्यान खिच्छ। याद गर्नुभएकै होला, काग एकैपटक कराउन थाले भने हामी के भएछ भनेर चासो लिन्छौं, सजग रहन्छौं,’ बरालले भने।
घरकागले अरू चरालेभन्दा धेरै सञ्चार गरिरहेका हुन्छन्। खतराको संकेत गर्दा, नयाँ केही थाहा पाए, खानेकुरा खोज्दा र भेटिँदा साथीहरूलाई बोलाउने स्वर भिन्नभिन्न हुन्छ। जस्तैः खतरा जनाउ दिनुपर्यो भने जमिन वा रूखबाट कराउँदै माथितिर उड्छन्। भुइँतिर हेर्दै असामान्य रूपमा हावामा बत्तिन्छन्। छट्पटाहट देखिन्छ।
एउटा कागलाई कुनै जीव वा मान्छेले आक्रमण गर्दा उनीहरू औधी चनाखो हुन्छन्। कति खतरा छ आकलन गरेर त्यहीअनुसार सामूहिक आक्रमणमा उत्रन्छन्। आवाजमा पीडा व्यक्त गर्छन्। प्रत्याक्रमणमा मान्छे वा जनावरलाई घाइते बनाउन पनि सक्छन्।
अर्को कुरा, सामान्यतः कागले आक्रमणकारीको हुलिया सहजै पहिचान गर्छ। उसले दुश्मन पुनः पहिचान गर्यो भने कराएर विरोध प्रदर्शन गर्छ वा आक्रमण गर्न पनि पछि पर्दैन। झटारो हान्नुभएको छ भने होस् गर्नुहोला।
ओथारा बसेका बेला काग अझै रिसाहा बन्छन्। वरिपरि कुनै जनावर–मान्छे आउनासाथ झगडामा उत्रिइहाल्छन्।
काग हाम्रा लागि जति सहयोगी र नजिक छ, अरू चराका लागि ठीक उल्टो व्यहोरा देखाउँछ। साना चरालाई हेप्ने, उनीहरूका अण्डा खाइदिने, सिकार बनाउने यसको बानीले यसलाई साना चराको झुन्डमा ‘डन’ नै बनाउँछ। काग धेरै हुँदै जाँदा साना चरा विस्थापित हुँदै जाने बराल बताउँछन्।
काग बाठो र आरिसे मात्रै हुँदैन, नाटकीय हाउभाउमा अरू चराभन्दा दुईगुणा अब्बल हुन्छ। नाटकै गरेर पनि उसले अरू चरा खेद्छ। साना चरा लखेटेरै उसको आहारा नखाई चित्त बुझाउँदैन। अझ लाटोकोसेरो देख्यो भने त कागले खप्नै सक्दैन। कागलाई चील र बाजबाट मात्र खतरा भएको बराल बताउँछन्। गिद्ध भने साथी हुन्छ रे।
जति नै हेला गरिएजस्तो देखिए पनि कागलाई मान्छेले एकदमै मनपराएको चरा भन्न रुचाउँछन् चराविद् बराल।
‘नभए काग पूजा किन गर्थ्यौं होला,’ उनी तर्क गर्छन्।