समाचारसमाज

फिनाममा खानेपानीले ल्याएको खुसी

मोहसिन अलि मियाँ
गोरखा ।
गोरखा नगरपालिका ४ फिनामकी विन्दा घर्ति मगरलाई बर्षौदेखि खानेपानी कै पिरलो थियो । झण्डै आधा घण्टा उकालो ओरालो बाटो हिडेर पहरेपानी खोला पुगेर पानी ल्याउनुुपर्ने बाध्यता उनको दैनिकी थियो । तर अहिले उनको दैनिकी फेरिएको छ । केहिदिन यता घरमै पानी आउन थालेपछि उनमा खुसीको सिमा छैन ।

‘अहिलेसम्म भिरको बाटो हिडेर खोलाबाट पानी ल्याएर खादै आएका थियौ’ उनले भनिन् ‘अहिले घरमै पानी आउछ, बल्ल सुखको सास फेर्न पाएका छौ ।’

खोलाको किनारसंगै खोचमा रहेको धाराबाट फिनामको पुतली बगैचाका स्थानीयले पानी उपभोग गर्दै आएका थिए । खानदेखि बस्तुभाउ र नुहाइधुवाईलाई समेत खोलाकै भर पर्नुपर्ने उनिहरुको बाध्यता थियो । तर हाल फिनामका बिभिन्न गाउँलाई लक्षित गर्दै निर्माण भएको दुई खानेपानी आयोजना सम्पन्न भएपछि उनिहरुको समस्या हटेको हो ।

‘५०/६० घरले गाउँमा भएको एउटा धाराको भर पर्नुपर्ने बाध्यता थियो’ बाँसटारीकी पार्वती बिकले सुनाइन ‘एक गाग्री पानी लिन २ घण्टा धारामै बित्यो, अहिले घरमै २४ सै घण्टा पानी आउछ, ढुक्क छम् ।’

फिनामका १ सय ७० घरमा पानी तुलसी मेहर युनेस्को क्लबले पु¥याएको हो । अक्सफाम लगायत ४ अन्तराष्ट्रिय संस्थाहरुको सहयोगमा क्लबले दुई बर्ष लगाएर सो घरधुरीमा पानी पु¥याएको बताइएको छ ।

धारापानी खानेपानी आयोजनाबाट १ सय ५ र नालेपानी आयोजनाबाट ६५ घरधुरीमा पानी वितरण भएको हो । सम्पन्न भएका दुई आयोजनाको बिहिबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घान गरेका हुन् ।

जसमध्ये धारापानी आयोजना निर्माण गर्न क्लबले २८ लाख ४७ हजार, गोरखा नगरपालिकाले ३ लाख ५० हजार र समुदायले श्रमदान सहित १५ लाख ५४ हजार लगानी गरेको वडाध्यक्ष खोपबहादुर अधिकारीले जानकारी दिए । धारासंगै सबै घरमा मिटरपनि जडान भएको छ । सो खानेपानी उपभोग गर्ने उपभोक्ताले मासिक कम्तिमा ३ सय ७० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै नालेपानी आयोजनाका लागि क्लबको ३४ लाख ७९ हजार, गोरखा नगरपालिकाले ७ लाख र समुदायले १६ लाख खर्च भएको उनको भनाई छ । जसमा भने कम्तिमा १ सय ५ रुपैया महशुल निर्धारण गरिएको बताइएको छ ।

दुई आयोजनाबाट फिनामको कोइराला गाउँ, बाँनिया गाउँ, रोका गाउँ, वारीपुछार, कुडुलेस्वाँरा, रम्तेलगाउँ, बखतेगाउँ लगायतका टोल लाभान्भित भएको स्थानीय राजु उपरकोटीले बताए । नालेपानी आयोजनाका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख राजनराज पन्तले आयोजनाको संरक्षणमा जुट्न आग्रह गरेका छन् । ‘आयोजना बन्नु ठूलो कुरा होइन, यसको संरक्षण र दिगोपना ठूलो बिषय हो’ पन्तले भने ‘यसको संरक्षण गर्नु हामी सबैको दायित्व र धर्म हो, यसको कदर होस ।’

कार्यक्रममा वडाध्यक्ष अधिकारी, तुलसी मेहरका अध्यक्ष धिरजबहादुर मास्के, इन्जिनियर चित्र अधिकारी, मंगल बयलकोटी, दिवाकर बाँनिया, विष्णु भट्टराई, राजेश खत्री लगायतले बोलेको खानेपानी आयोजनाका सचिव हरिराम खत्रीले जानकारी दिए ।

the authoradmin

Leave a Reply