विश्वसमाचार

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

Nepal Akhabar

नेपालअखबार, एजेन्सि। ‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो ।

यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि अनलाइन एपमा १० हजार भारु ऋण लिएका थिए र केही समयमा नै यो ऋण १० हजारबाट बढेर १० लाख रुपैयाँसम्म पुग्यो ।

त्यसपछि फौजिया र उनका श्रीमानले ऋण तिर्न घरका सामानसम्म बेच्नुपर्‍यो ।

सोसल मिडियाको यो समयमा मानिसलाई कतै न कतै के डरले सताउँछ भने उनीहरूको फोटो कुनै गलत व्यक्तिको हातमा त पर्ने होइन किनभने ती तस्बिरको गलत प्रयोग हुनसक्छ ।

फौजिया र उनका श्रीमानलाई पैसा दिनका लागि ब्ल्याकमेल गर्न थालियो । यसका लागि उनीहरूको तस्बिरको गलत प्रयोग गरियो ।

फौजियाका श्रीमानको तरकारीको व्यवसाय थियो, जसमा उनले अरूलाई काममा राख्थे तर स्थिति यहाँसम्म पुग्यो कि उनीसँग

छोरीलाई दिनका लागि दूधसमेत थिएन ।

फौजिया र उनका श्रीमानले ऋण तिर्न किन घरका सामान बेच्नुपर्ने स्थिति आयो ? यो प्रश्नको जवाफमा त्यो कहानी लुकेको छ जसलाई सुनेर मानिसको मनभित्र त्रास फैलन सक्छ ।

२०२० मा, पाकिस्तानमा कोभिड–१९ महामारीको बेला, अनलाइन एप्स मार्फत सजिलो किस्तामा ऋण लिने प्रक्रिया सुरु भयो । यो ऋण लिनेहरू जब एप डाउनलोड गरेर ऋण लिने सर्त हेर्छन् तब उनीहरूलाई स्थिति त्यहाँ लेखिएको भन्दा ठिक विपरीत हुन्छ भन्ने कुराको अलिकति पनि जानकारी हुँदैन ।

उदाहरणका लागि ऋण तिर्न ९१ दिनको समय दिइएको हुन्छ र लिएको रकममा तीन प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने भनिएको हुन्छ ।

तर ती अनलाइन एप्सबाट कुनै व्यक्तिले ऋण लिएपछि एक साताभित्रै ऋण फिर्ता गर्न भन्दै विभिन्न नम्बरबाट फोन आउन थाल्छ र ऋणको रकम दिनप्रतिदिन दोब्बर हुँदै जान्छ ।

प्ले स्टोर वा एप्पल स्टोरबाट कुनै पनि एप डाउनलोड गर्दा एपमार्फत प्रयोगकर्तालाई फोनको कन्ट्याक्टमा पहुँचको लागि अनुरोध गरिन्छ र यो अनुमति दिने बित्तिकै प्रयोगकर्ताको फोनको डाटा सम्बन्धित कम्पनीले प्राप्त गर्छ ।

mobile‘श्रीमानले दुई पटक आत्महत्याको प्रयास गरे’

फौजिया र उनका श्रीमानमाथि पनि त्यस्तै भयो । उनीहरूलाई एक हप्तापछि फोन आयो र लिएको ऋण नतिरे पाँच हजार ब्याज तिर्नुपर्ने बताइयो ।

आफ्नो नराम्रो अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मेरो श्रीमानलाई पैसा नदिए आफन्तलाई ऋण लिएको बारे बताइदिने र तिर्न नमानेको भनेर भनिदिने धम्की दिइयो । श्रीमानले ९१ दिनको समय सीमा भएको र ऋण फिर्ता गर्न किन बाध्य पारिरहेको भनेर प्रश्न सोधे । तर हामीले उनीहरूलाई पाँच हजार दियौँ तर यो सिलसिला यत्तिमा मात्रै सीमित भएन ।’

उनी भन्छिन्, ‘अब हाम्रो अवस्था यस्तो छ कि एक छाक खायौँ भने कसैले आएर केही खान दिने हो कि भनेर कुर्छौँ । म र श्रीमान् त यसरी नै समय बिताउँछौँ तर हाम्री एक छोरी पनि छिन् जो खाना कम पाएका कारण यति कमजोर भएकी छिन् कि उनी आफ्नो उमेरभन्दा सानो देखिन्छिन् । ’

फौजियाका अनुसार उनका श्रीमान् यो अवस्थाबाट यति आजित भइसकेका छन् कि उनले केही दिन अघि मात्रै दुई पटक आत्महत्याको कोसिस पनि गरिसकेकी छिन् ।

‘उनले मलाई र छोरीलाई कोठाबाट बाहिर निकालेर पङ्खाबाट झुन्डिएर आत्महत्याको कोसिस गरे । त्यसपछि एक दिन उनले बारम्बारको फोनबाट दिक्क भएर बिजुलीको तारबाट करेन्ट लगाएर आत्महत्या गर्ने कोसिस पनि गरे ।’

फौजिया र उनका श्रीमानजस्ता हजारौँ मानिस छन् जो यस्ता अनलाइन फ्रडको सिकार भएका छन् । उनीहरूले ब्ल्याकमेलिङको पनि सामना गरिरहेका छन् ।

यो अनलाइन एप्सबाट कसैले १३ हजारको ऋण लिए त घर बेचेर १७ लाख तिरे कसैले २० हजार लिँदा १३ लाख तिर्नका लागि आफ्नो पसल र श्रीमतीको गर–गहनासमेत बेचिदिए ।

यसको अर्को एउटा उदाहरण पन्जाब प्रान्तको सहर रावलपिंडीका ४२ वर्षका मोहम्मद मसुदको हो । उनले यस्तै अनलाइन एपबाट ऋण लिए र ब्ल्याकमेलिङबाट आजित भएर कथित रूपमा आत्महत्या गरे ।

मोहम्मद मसूदको आत्महत्यापछि सोसल मिडियामा मानिसहरूले ती एप्स र ती मानिसविरुद्ध कारवाहीको माग गरे । त्यसपछि सरकारी संस्था सक्रिय भए र ती धोका दिने कम्पनीविरुद्ध कारवाही तेज गरियो ।

एडिशनल डायरेक्टर साइबर क्राइम विङ, इस्लामाबादका अयाज खानले ती कम्पनीबाट आएको फोनलाई ट्र्याक गरेर कारवाही गरिएको छ र हालै मोहम्मद मसूदको आत्महत्यापछि यी कारवाहीमा तीव्रता आएको पनि उनले जानकारी दिए ।

उनका अनुसार उनीहरूले सात एफआईआर दर्ता गरेका छन्, २५ जनालाई पक्राउ गरेका छन् जबकि सात कम्पनीको कल सेन्टर जस्तो अफिसलाई बन्द गरिएको छ । यस्तै ३५ बैङ्कका अकाउन्ट फ्रिज गरिएको छ ।

नाजिश फैज, बीबीसी

 

 

the authoradmin