राजनीतिविचारसाहित्य \कलाहाइलाइट-समाचार

माधव नेपालले कोरेको गोरेटो

बाल्यकालदेखि हालसम्म हेर्दा माधव नेपाल क्रान्तिकारी देखिन्छन्। अन्याय, अत्याचार, निरंकुश, स्वेच्छाचारीलगायत सबै प्रवृत्तिका विरुद्धमा बुलन्द आवाज उठाइरहेका छन्।
नयाँ गोरेटो कोर्ने काम जोसुकैले गर्न कठिन हुन्छ। जिन्दगीको सेवानिवृत्त जीवनमा ऐस आराम गरी बस्ने बेलामा आफैंले निर्माण गरेको पार्टीबाट विद्रोह गरेर कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्छौं भनेर माधव नेपाल लागिपरेका छन्।
उनले समाजवादको यात्रा तय गरी देशलाई समृद्ध बनाउँदै विकासको यात्रामा अगाडि बढाउँछौं भनेर दृढ इच्छा शक्ति व्यक्त गरेका छन्। यसरी दरिलो मुठी उठाएर नयाँ यात्रामा नेपाल नेतृत्व गरी हजारौं योद्धालाई लामबद्ध गराई नयाँ यात्रामा निस्किसकेका छन्। पक्कै पनि नयाँ गोरेटो बनाउने काम कठिन छ तर त्यसका बाबजुद पनि माधवले नयाँ गोरेटो नबनाई सुखै छैन। १५ वर्ष जति माधवले आफ्नै नेतृत्वमा तत्कालीन नेकपा एमालेको गोरेटो बनाए। त्यसबेला पार्टीलाई शक्तिशाली पार्टी बनाई सरकारको नेतृत्वसमेत गरिसकेका नेतालाई नयाँ यात्रामा कसरी हिँड्नुपर्छ भन्ने राम्रैसँग थाहा होला। आज नेपालको विगत र वर्तमानको जानकारीसहित नयाँ समाजवादको यात्रामा कसरी उनी अघि बढ्छन् भन्ने बारेमा चर्चा गरिएको छ।
१३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आए। नेपाल २०५० सालदेखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। देशका सत्तहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले अन्तर्राष्ट्रिय रूपमा पनि भारत, चीन, फिलिपिन्स, अमेरिका, उत्तर कोरिया, जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, जापान, सिंगापुर, इन्डोनेसिया, रसियालगायतका विश्वका अधिकांश मुलुकको भ्रमण गरी अनुभव बटुलेका छन्। उनमा पार्टी र सरकारको नेतृत्व गरेको अनुभव पनि छ। उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक गरे। राजनीतिमा आउनुअघि उनले बैंकमा जागिर पनि खाए। बाल्यकालदेखि हालसम्म हेर्दा माधव नेपाल क्रान्तिकारी देखिन्छन्। अन्याय, अत्याचार, निरंकुश, स्वेच्छाचारीलगायत सबै प्रवृत्तिका विरुद्धमा बुलन्द आवाज उठाइरहेका छन्। त्यो बाल्यकालदेखिको क्रान्तिकारी आवाज जीवनको अन्तिम उमेरसम्म पनि राष्ट्र र जनताको पक्षमा बोल्दा आमनागरिकले नेपाललाई सम्झिइरहने छन्। विगतदेखि वर्तमानसम्मको अनुभवलाई अबको समाजवादको यात्रामा प्रयोग गरी वास्तविक रूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई जनप्रिय पार्टी बनाउँदै नेपाल अघि बढ्नु पर्ने आवश्यकता छ।
समाजवादसम्म पुग्ने यात्रामा नेपालले नयाँ गोरेटो कोरी बाटामा आउने अनेक व्यवधानलाई पन्छाए। नेपालको समग्र विकास गर्ने योजनासहित उनी नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपालसहितको स्वाभिमानी मुलुक बनाउने अठोटमा रहे। ओली प्रवृत्तिसँग विद्रोह गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाउन उनी लागिपरेका छन्। क्रान्तिकारी धारको रक्षा र विकास गर्छु साथै हालसम्मका उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायसहितको अवधारणा स्थापित गर्छु भनेर लागेका छन् उनी। सामाजिक, आर्थिक, रूपान्तरणका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण, प्रगतिशील उत्पादक शक्तिको विकास, स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना गरिरहेछन्। समाजवादका आधार निर्माणको कार्यदिशालाई अगाडि बढाउँछु भन्ने अठोटसहित धेरै अवधारणा उनले अघि सारेका छन्। उनले नयाँ यात्राको नयाँ गोरेटोमा हजारौं शुभचिन्तक, समर्थक, कार्यकर्ता, सबैलाई लामबद्ध लगाएका छन्।
के साँच्चिकै माधव नेपालले घोषणा गरेका अवधारणाहरू व्यवहारमा प्रयोग गर्न सक्छन् त ? उनको विगत केलाउँदा समकक्षी नेताभन्दा सादगी, सरल बोलेको कुरा व्यवहारमा प्रयोग गर्ने मनगढन्ते कुराहरू नगर्ने देखिन्छन्। कार्यकर्तासँग सरल तरिकाले प्रस्तुत हुने, कार्यकर्ताले सजिलै भेटघाट गर्न सक्ने, राजनीतिक सैद्धान्तिक विचारमा प्रष्ट, अनुशासनमा कटिबद्ध नेता हुन् भनेर आमनागरिकमा अहिले पनि उत्तिकै विश्वास छ। नेपालको विगत हेर्दा राष्ट्रियताको सवालमा होस् या लोकतन्त्रलाई बलियो बनाउने मुद्दामा, या गणतन्त्र ल्याउँदा खेलेको भूमिकाबारे होस्, उनी यस्ता मुद्दामा अग्रपंक्तिमा छन्। माओवादीसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याउने काम गर्दा होस् वा देशमा युद्ध रोक्ने काममा होस् या देशलाई संघीयता, धर्म निरपेक्षतालगायतका तमाम मुद्दामा उनी अगाडि छन्।
ओली प्रवृत्तिसँग विद्रोह गरी दुईदुई पटकसम्म विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापना गरी देशको संविधानको रक्षा गर्दै लोकतन्त्र, गणतन्त्र र देशको नियम कानुनलाई बलियो बनाउने काममा पनि नेता नेपालले काम गरेकै हुन्। देशलाई सही दिशामा अगाडि बढाउने काम होस् या जनताको संघर्षबाट भएका उपलब्धिहरूको रक्षा गर्दै संस्थागत गर्ने काम उनले भूमिका खेलेको हुन्। यस्ता तमाम मुद्दाहरूमा उनले खेलेको भूमिकाबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानको पनि नेतृत्व गर्न सक्छन् भन्ने आमनागरिकलाई विश्वास छ।
मदन भण्डारीको हत्यापछि माधव नेपालले पार्टीको नेतृत्व गर्ने मौका पाए। नेपाल नेतृत्वमा हुँदा पार्टीलाई विधि, विधान, नियम कानुन, अल्पमतले बहुमतको निर्णय मान्ने, फरक विचार राख्न सक्नेलगायतका सबै विषयवस्तुमा पार्टीमा छलफल गरी निर्णयमा पुग्ने एउटा अनुशासित पार्टी बनेकै थियो। २०६४ सालको संविधानसभाको निर्वाचनमा पार्टीले पराजय भोगेपछि नैतिकताको आधारमा पार्टीको महासचिव पदबाट राजीनामा दिई उच्च नैतिक संस्कार देखाएका थिए।
नेता नेपालबाहेक अन्य पार्टीका कुनै मुख्य नेताहरूले पार्टीको प्रमुख पदबाट राजीनामा दिएका छैनन्। बरु ३०÷४० वर्षसम्म पनि पार्टीको प्रमुख नेतृत्वबाट छाड्दैनन्। उनीहरू पार्टी जति कमजोर भए पनि, पराजित भए पनि, वैचारिक रूपमा स्खलन भए पनि पार्टी विधि, विधान पद्धतिमा नचले पनि, आफू अल्पमतमा परे पनि पार्टीको मुख्य नेतृत्वबाट राजीनामा दिँदैनन्। तत्कालीन नेकपाको अध्यक्ष केपी शर्मा ओलीको पनि प्रवृत्ति यस्तै रह्यो। उनी नेकपामा हुँदा अल्पमतमा परे। तर पार्टीको निर्णय, विधि, विधान, केही पनि नमानी उल्टै आफ्नो पार्टी ब्युँत्याउने प्रयत्न गरे । परिणामः त्यत्रो शक्तिशाली पार्टी नेकपाको विभाजन गराई आफू नेकपा (एमाले) को अध्यक्ष भई छाडे। तर माधव नेपालले आफू नेतृत्वमा भएको बेला २०६४ सालमा चुनावी परिणाम राम्रो आउन सकेन भनेर पद त्याग गरे र झलनाथ खनाललाई अध्यक्ष बनाए।
ओलीले नेकपालाई जोगाउन के राजीनामा दिए त ? माधवले नेकपा (एमाले) अथवा ओली प्रवृत्तिसँग विद्रोह गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारी प्रवृत्ति, निरंकुश, दक्षिणपन्थी अवसरवाद, चरम गुटबन्दी र विसर्जनवाद रोकेर क्रान्तिका उपलब्धिहरूको रक्षा गरे । यिनै उद्देश्यले नेपालको कम्युनिस्ट पार्टीलाई नयाँ तरिकाले गठन गरी ओली प्रवृत्तिविरुद्ध तिखो वैचारिक संघर्ष पनि गरे । कम्युनिस्ट आन्दोलन र क्रान्तिको रक्षा गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गरी अहिले क्रियाशील छन्।  नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढंगले चलाउने पार्टी भनेका छन्। ओलीको जस्तो व्यक्तिगत इच्छा र आकांक्षामा चल्ने नभई विधि र कमिटी प्रणालीका आधारमा चल्ने पार्टी बनाउँछु भनेका छन्। यस पार्टीलाई वर्गीय, क्षेत्रीय, लैंगिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिकलगायतका सबै खाले विभेदको अन्त्य गर्छु भनेका छन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीमा नीति प्रदान हुन्छ, नेता प्रधान हुँदैन।
तसर्थ नेता पार्टीको अधीनमा रही सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई अवलम्बन गर्ने भनेका छन् । राष्ट्रिय पुँजीको निर्माण गर्दै वैज्ञानिक समाजवादी लक्ष्य प्राप्तिका लागि स्पष्ट समाजवादी कार्यदिशा अँगाल्ने भनेर घोषणा गरेका छन्। पार्टीमा भ्रष्टाचार, कमिसनखोर, कुशासन, नातावाद र कृपावादलगायत सबै खाले विकृति, विसंगतिका विरुद्ध संघर्ष गरी नयाँ संस्कार बसाउने अभियान गर्छु भनेका छन्। माधव नेपालले जति पनि विषयवस्तुहरू घोषणा गरेका छन् ।
ती विषयवस्तुको आमनागरिकले हेक्का राखेका छन्। तसर्थ माधवले नेपाली जनताको चाहना, इच्छा, आकांक्षा र विश्वासप्रति दृढ रही नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सही ढंगले अगाडि बढाउन सके भने आम नागरिक माधव नेपालले कोरेको गोरेटोमा लामबद्ध हुनेछन्
लेखक नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुन्।

|

the authoradmin