प्रशासनसमाचार

मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर

नेपाल अखबार, काठमाण्डौ। सरकारले लकडाउन साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै साइकल चल्न दिने र् मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

सबै प्रकारका ढुवानी सहित व्यक्तिहरुको पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले पैदल आवागमनका क्रममा भिडभाड नगर्न र सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने निर्णय समेत सरकारले गरेको छ ।  यसरी जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले जनाए । निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन।

त्यसैगरी सरकारले सार्वजनिक तथा निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न जोर बिजोर प्रणालीमा सीटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने गरि सवारी सञ्चालन गर्न भनेको छ । यसका लागी सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नु पर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्नेछ ।
 खुल्न पाउने अन्य सेवा तथा कार्यहरु :
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
यी सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ–आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयहरूको सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ । यो मोडालिटी असार १ गतेदेखि कार्यान्वयनमा आउने छ ।
 खुल्न नपाउने सेवा तथा कार्यहरु :
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)
३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११) पहिलो चरणमा खुल्ने भनी  तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।
अर्थमन्त्री खतिवडाले परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लिखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिने बताएका छन् ।

the authoradmin

Leave a Reply