खेलकुदविश्वसमाचार

विश्वकप १९७८ : अर्जेन्टिनी सैन्य शासकको ‘हस्तक्षेप’को छाया

नेपालअखबार,काठमाडौं । वर्षौंसम्म आयोजना अधिकारबाट बन्चित रहँदा र पटक पटक प्रतियोगिता बहिष्कार गरेपछि अर्जेन्टिनाले अन्तत: विश्वकप आयोजनाका लागि अवसर पाएको थियो ।

अर्जेन्टिनाका पूर्व राष्ट्रपति जुहान पेरोनको प्रख्यात हातको इसारालाई प्रतियोगिताको लोगो बनाइएको थियो । जसलाई तत्कालीन सैन्य नेतृत्वले परिवर्तन गर्न आदेश दिएको थियो । तर, चर्को आलोचना र कानूनी कठिनताका कारण परिवर्तन गर्न सम्भव भएन ।

आयोजक देशको नेतृत्वमाथिको आलोचना यतिमा मात्र सीमित थिएन ।उनीहरुलाई घरेलु टिमका लागि अनुकुल परिणाम र परिस्थिति बनाउन प्राविधिक व्यक्तिहरुमाथि हस्तक्षेप गरेको आरोप लागेको थियो ।

यो विश्वकपमा बेल्जियम, उरुग्वे र इंग्ल्याण्डजस्ता उपाधि दावेदार टिमहरु छनोटमै पराजित भए । इरान र ट्युनिसिया पहिलोपल्ट छनोट भए । नेदरल्याण्ड्सका योहान क्रुफ आफ्नो टिमलाई विश्वकप छनोट गराए पनि बार्सिलोनामा परिवारमाथि अपहरणको प्रयास भएपछि विश्वकपमा भाग लिने निर्णयबाट पछि हटे ।

सन् १९७४ मा पश्चिम जर्मनीलाई विश्वकप जिताएका सुपरस्टार गर्ड मुलर यसपल्ट थिएनन् । नेदरल्याण्डले लगातार दोस्रोपल्ट विश्वकपको फाइनल खेल्यो तर, फेरि एकपल्ट आयोजक टोलीसँग पराजित रह्यो ।

पहिलो हाफमा अर्जेन्टिनी स्टार मारियो केम्पेसले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । अर्जेन्टिना जिततर्फ अग्रसर भइरहँदा किक नानिंगाले ८२ औं मिनेटमा डच टिमका लागि बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

केम्पेसले अतिरिक्त समयमा फेरि अर्को गोल थपे । खेल सकिनु पाँच मिनेटअघि ड्यानिएल बेरोनीले गोल गरेपछि अर्जेन्टिनाले आफ्नो पहिलो विश्वकप उपाधि जित्यो । खेल जितेपछि अर्जेन्टिनी समर्थक मैदानमै आएर खुसियाली मनाएका थिए ।

निराश नेदरल्याण्ड्स टिमले खेलपछि समापन समारोह वहिस्कार गरेको थियो ।

अर्जेन्टिनाले एक आक्रामक फुटबल शैलीको प्रदर्शन गरेको थियो । यो शैली प्रशिक्षक सेसार लुइस मोनोट्टीले विकास गरेका थिए ।

यो प्रतियोगिता अर्जेन्टिनाका सैन्य शासक र उनीहरुद्वारा भएको अनावश्यक हस्तक्षेपको विवादसँग जुधिरह्यो । अर्जेन्टिना र ब्राजिलको खेलका क्रममा हिंसात्मक झडप भएको थियो । फाइनलमा ‘फेयर प्ले’ नभएको भन्दै समापन समारोह वहिस्कार गरेको थियो ।

तथ्यांकमा विश्वकप १९७८

आयोजकः अर्जेन्टिना
टिमः १६
फर्म्याटः समूह चरण, दोस्रो चरण, फाइनल
खेलः ३८
गोलः १०२
विजेताः अर्जेन्टिना
उपविजेताः नेदरल्याण्ड्स
गोल्डेन बुटः मारियो केम्पेस (अर्जेन्टिना)

the authoradmin