Saturday, July 11

योग प्रशिक्षणका लागि ‘प्रशिक्षक तालिम’ सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगर : स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिनेछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य छ ।

Advertisement

अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि योग कक्षामार्फत प्रवर्धनात्मक, निरोगात्मक, सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य रहेको ओलीको भनाइ छ ।

Advertisement
Advertisement

आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, कर्म फल विनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन क्रियाकलाप बढाउन आवश्यक छ । कार्यक्रमले यो आवश्यकता पूरा गराउने लक्ष्य राखिएको छ ।

Advertisement

योग प्रशिक्षक डा. बिनोद घिमिरेका अनुसार जीवनशैलीका कारण सिर्जना हुने मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर,  मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता रोग निवारणका लागि योग लाभदायक हुने प्रमाणित भएको छ । उहाँ थप्दै भन्नुहुन्छ, ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु र योगको कुनै लाभ छैन भन्नु दुवै अनभित्रता हुन् ।’

योगलाई विधिपूर्वक गर्नु पर्छ । जसले पनि योग गर्न मिल्छ, भन्नु हुँदैन । उहाँले सुझाव दिँदै भन्नुभयो, ‘व्यक्तिमा भएको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरेर त्यसअनुरुप योग गराउनु पर्छ । लााभ हुन्छ ।’

योग प्रशिक्षक डा. सुमन विष्टका अनुसार योग चिकित्सामा सरीर तथा मनका विभिन्न अभ्यास गरिन्छ । यसबाट विश्रामको गहिरो अवस्था पुग्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र होइन । स्वस्थ्य हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ । यो सबैको प्राप्ति योगबाट सम्भव छ ।

योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुरा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास प्रशिक्षणका विषयमा राखिएको छ । प्रशिक्षार्थीहरुलाई तालिम पूर्व परीक्षण गरिनेछ । यसरी दिइने तालिममा १५ वटा कक्षा छन् । यसमा योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनमा कुन उपयोगी योगका विषयमा सिकाइनेछ । मानसिक रोग, ढाड दुखाइ, घुँडा दुखाइ प्रशिक्षणका विषय हुन् ।

सहरी क्षेत्रमा देखिएका तत्कालीन र सम्भावित दीर्घकालीन स्वास्थ्य समस्यालाई निरोधात्मक विधिबाट कम गराउन कुरालाई मध्यनजर गरेर प्रशिक्षणका विषय छानिएका छन् ।