Tuesday, April 21

पत्रकार महासंघका सबै कार्यसमितिको कार्यकाल ६ महिना थपियो

नेपाल अखबार, काठमाडाैं। नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश तथा जिल्ला कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ।
बुधबार जुममार्फत भएको महासंघको राष्ट्रिय भेलाले कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो।
यस्तै, ‘कोरोना संक्रमणको त्रास र श्रमजीवी पत्रकारहरुको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्ने’ निर्णय भएको महासंघले जनाएको छ।
भेलाले केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गोविन्द आचार्यबाट प्रस्तावित प्रस्तावहरु छलफलपछि परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरेको छ।
महासंघले मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने, २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने, कदंकदाचित कोरोना महाव्याधीका कारण उल्लेखित कार्यतालिका कार्यान्वयनमा जटिलता उत्पन्न भएको खण्डमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अख्तियार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै, कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले झेल्नु परको आर्थिक अभावलाई दृष्टिगत गरी २०७७ सालको सदस्यता शुल्क छुट दिई यसलाई केन्द्रीय साधारणसभाबाट अनुमोदन गरी छुटका हकमा विधानको व्यवस्था हेरफेर गर्न केन्द्रीय साधारणसभामा प्रस्ताव लान भेलाले सहमति प्रदान गरेको छ।
कोरोना महामारीको लाभ लिँदै सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने सिलसिला कायम रहेकोप्रति खेद व्यक्त गर्दै भेलाले श्रमजीवी पत्रकारको पुसमा केन्द्र, प्रदेश र शाखाहरुमार्फत सशक्त दबाबमूलक अभियान सञ्चालन गर्ने र कानूनी संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता भेलाले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *