चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
नेपालअखबार, बेइजिङ । चीनको पश्चिमी प्रान्त गान्सुको पहाडी क्षेत्रमा गएको पहिरोपछि कम्तीमा १६ जना अझै पनि पुरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रारम्भमा ३३ जना पहिरोमा फसेका थिए । तीमध्ये १७ जनाको सफल उद्धार गरिएको छ भने बाँकी १६ जनाको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ ।
चीनका राष्ट्रपति सिन जिनपिङले प्रभावितहरूको उद्धारका लागि सबै सम्भावित प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार गएको उक्त पहिरोको कारण अझै खुलेको छैन । यद्यपि पछिल्ला केही दिनयता चीनका विभिन्न क्षेत्रमा भीषण वर्षा र आँधीका कारण प्राकृतिक विपद्का घटना बढिरहेका छन् ।
यसैबिच, सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा आएको भीषण आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।...










