नेपाल अखबार,बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा आज १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय उनको आज बिहान अस्पतालमा ज्यान गएको हो ।
साउनको अन्तिम हप्ता भारतबाट नेपाल आएका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि ४ दिन अगाडि क्वारेन्टिनमा बस्दै गर्दा अस्पताल भर्ना भएका थिए । क्वारेन्टिनमा रहँदा नै पिसिआर परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृक्तकलाई दमको समस्या रहेको थियो ।
वीरगञ्जमा समेत कोरोनाबाट १ जनाको ज्यान गएको छ । ७४ वर्षीय संक्रमित वृद्धको हिजो साँझ वीरगञ्ज हेल्थ केयर अस्पतालमा ज्यान गएको हो । साउन ३ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचाररत रहेका उनको हिजो साँझ ज्यान गएको हो ।
ललिपुरको पाटन अस्पतालमा समेत २ जनाको ज्यान गएको छ । दोलखाकी ३० वर्षीय महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा कोरोनाबाट ज्यान गएको हो ।
चितवनमा समेत १ जना कोरोना संक्रमितको ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । रत्ननगर नगरपालिकाका उनको केही दिन अगाडिबाट अस्पतालको कोभिड सघनमा उपचार भइरहेको थियो । उनमा मृगौला सम्बन्धी रोग, क्षयरोग तथा खुट्टाको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।
यस्तै बिहीबार भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनमा २२ जना सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्तमित हुनेमा ११ महिला तथा ८ जना पुरुष छन् । राप्ती नगरपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण कै क्रममा पर्वत सहित मकवानपुर र पर्साका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

