Wednesday, April 22

कास्कीमा पहिराले घर भत्किदा एकको मृत्यु

नेपाल अखबार, पाेखरा। कास्कीको रुपा गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिराले घर भत्किदा एक जनाको मृत्यु भएको छ भने परिवारका अन्य सदस्यले भागेर ज्यान जोगाएका छन् ।
रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट विहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुँगा माटोले बनेको घर पुरिदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घर भन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो । शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
पहिराले स्थानीय हरिराम विक, चुडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *