Tuesday, April 21

सर्पले डसेर गम्भीर कास्की तप्राङका बालक विशाललाई उपचार खर्च अभाव

नेपाल अखबार, पाेखरा। कास्कीको उत्तरपूर्वी मादी गाउँपालिका–६तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएको छ ।
गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिँदै जाँदा रकम अभावसँगै परिवारले सहयोगी हातको अपेक्षा गरेको छ ।
करेतको डसाइपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोमाबाट १९ दिनपछि फर्किएका विशालको मुख र आँखा चलेपनि अहिलेसम्म होसमा आउन सकेका छैनन् । उपचारका लागि चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरे पनि पैसाको अभाव भएको उनका बाबु गंगाधर पौडेलले दुखेसो पोखे ।
विशालको उपचारमा ८ लाख रुपैयाँ खर्च भइसकेको छ । कमजोर आर्थिक अवस्थाका कारण थप उपचारका लागि परिवारले उनलाई काठमाण्डौ लान सकेको छैन । उहाँले भन्नुभयो, “चिकित्सकले तीन दिनअघि नै उनलाई काठमाडौँको न्यूरो अस्पताल लैजान भन्नुभएको छ तर त्यहाँ उपचार गर्न सक्ने हाम्रो परिवारको अवस्था छैन । सहयोगी दाताहरुले केही रकम सहयोग गरे शिक्षण अस्पतालसम्म भए पनि लैजाने योजनामा छौँ ।”
उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि अहिले मादी गाउँपालिका–६ का स्थानीयवासीले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । ‘विशाल पौडेल बचाउन अभियान’ शुरु गरी स्वेच्छिकरूपमा सहयोग सङ्कलन गरिएको र सहयोग आउने क्रम जारी रहेको अभियानकर्मी एवं पौडेलका आफन्त सन्तोष अधिकारीले बताउनुभयो ।
त्यसैगरी वडा कार्यालयले समेत सूचना जारी गरी पौडेलको उपचारमा सघाउन सङ्घसंस्था तथा व्यक्तिहरुमा आग्रह गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिहरुले भाइ शिवराज पौडेलको नाममा मुक्तिनाथ विकास बैंक काहुुँखोला शाखामा रहेको खाता नं ०२६२१६००४९१५५००००००१ मा जम्मा गर्न वा ९८०३२६०३०७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *