Thursday, April 23

कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ।
भदौ ५ गते अनलाइनखबरमा ‘२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षाविद्को माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि परिषद्ले निर्णय सच्याएको केन्द्रका एक अधिकारीले जानकारी दिए । ती अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।’
परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ सँगै अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ पनि ल्याउनै पर्दछ ।
विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्यांकन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको अध्यक्षतामा समिति गठन भएको केन्द्रका महानिर्देशक दाहालले बताए । डा. झा परिषद्का सदस्यसमेत हुन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *