Saturday, May 2

बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ

नेपाल अखबार, काठमाडौं । खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।
नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।
लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ६१ लाल गालेको सुन र ६२ लाल गाल्न बाँकी सुन मुरली बिकको पसलबाट बरामद गरिएको छ ।
काठमाडौँको नेपालटार बस्ने सन्दिपा सार्वजनिक गाडी चढेर निश्चित ठाउँमा जान्थिन् । अनि, त्यहाँ मुन्द्रा लुटेर भाग्थिन् । बच्चा फकाउँदै हिँडेको सिसिटिभी फुटेज हेरेर प्रहरीले उनको पहिचान गरेको थियो ।
आमाको साथी बनेर लुटपाट
लामो समयदेखि लुटपाटमा सक्रिय सन्दिपा पहिले खेलीरहेका बच्चाको आमाको नाम पत्ता लगाउँथिन् । आसपासका पसलमा चियाँ पिउँदै नाम पत्ता लगाएपछि बच्चा नजिक गएर उनी भन्थिन्, ‘बाबु, तिमी फलानाकी छोरी हैन ?’
‘म तिम्रो आमाको साथी हुँ, आऊ आइसक्रिम किन्दिन्छु,’ भन्दै उनले बच्चालाई खानेकुरा किन्दिन्थिन् । अनि, बच्चालाई गुलियोमा भुलाएर ‘यस्तो मुन्द्रा किन लगाएको, बोत्तल–कागज खोज्न हिँड्नेले बोरामा हालेर लान्छन्’ भनेर उनले सो मुन्द्रा आमालाई दिन्छु भनेर निकाल्थिन् । त्यसपछि उनी फरार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो एक वर्षयता उनले मुन्द्रा लुटपाट ‘धन्दा’ चलाएको महानगरीय अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए ।
सन्दिपाले मुन्द्रा लुटेका १६ जना बालबालिकाका परिवार प्रहरीको सम्पर्कमा पुगेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *