नेपाल अखबार, गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भीरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
उहाँको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।
मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए । “अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह-समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।”
घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । घटनास्थल निकै टाढा भएकाले घटनाको ढिलो गरी जानकारी आएको उहाँको भनाइ छ ।रासस

