नेपाल अखबार, एजेन्सि। आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको निधन भइसकेको थियो, ६ वर्षको छँदा आमाको निधन भयो । ८ वर्षको छँदा हजुरबुबाको निधन भएपछि मोहम्मदलाई हुर्काउने काम काका अबु तलिबले गरे । सुरुमा मक्कामै बसेर मोहम्मदले व्यापार गरिरहेका थिए । यसक्रममा उनी एक सत्यवादी तथा इमान्दार व्यक्तिका रुपमा प्रसिद्ध थिए ।
उहाले ४०बर्षको उमेरमा नुबुवत(आफू अल्लाहका सन्देष्टा भएको कुरा)अरुको अघि घोषणा गर्नुभएको थियो। यसपछि उनले इस्लाम धर्मअनुसार एक ईश्वर अल्लाहकाे प्रथाना गर्न सल्लाह दिए ।
मक्कामा उनले झन्डै १ सयको हाराहारीमा आफ्ना अनुयायीहरु बनाएका थिए । तर, यी अनुयायीहरुलाई त्यहाँ कडा यातना दिइयो, महोम्मदकै हत्याको षडयन्त्र भयो । त्यसपछि उनी मदिनातर्फ लागे ।
२४ सेप्टेम्बरमा उनले हिजरत अर्थात मदिनाको यात्रा पुरा गरे, जहाँ भव्य स्वागत भयो । यहाँ उनले आफ्नो अनुयायीहरुलाई संयोजित गरे, त्यसैले यस दिनलाई ईस्लाम धर्ममा महत्त्वपूर्ण दिनका रुपमा लिइन्छ । यसै दिनलाई ‘पहिलो दिन’ मानेर केहीपछि ईस्लामिक क्यालेन्डर ‘हिजरी’ जारी भएको थियो । मदिनामा मोहम्मदले ईस्लाम धर्मको खुबै प्रचार गरेका थिए।
उहालाई इस्लाम धर्मावलम्बीहरुले अल्लाहका सन्देष्टा भनेर अनुसरण एवम मान्ने गर्छन्।
६ सय ३० तिर मोहम्मद आफ्ना अनुयायीहरुको ठूलो संख्यासहित जन्मस्थल मक्का यात्रामा फर्किए, भनिन्छ यस यात्रामा १० हजार जना सहभागी थिए, मोहम्मदले सबैप्रति स्नेह र दयाभाव प्रकट गरेका थिए ।
अन्य घटनाक्रम
सन् १९४८ – होन्डा मोटर कम्पनीको स्थापना ।
सन् १९९३– कम्बोडियामा राजतन्त्र पुनस्र्थापना, नोरोडोम सिहानुक राजगद्दीमा ।
सन् २००७ – बर्माको यागुंनमा सरकार विरोधी प्रदर्शन, २० वर्षयताकै शक्तिशाली प्रदर्शनमा ३० हजारदेखि १ लाख मानिस सहभागी ।
सन् २००७– भारतलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकपको उपाधि ।
सन् २०१३– दक्षिणी पाकिस्तानमा ७ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, कम्तिमा ३ सय २७ व्यक्तिको मृत्यु ।
२०१५– साउदी अरेबियामा हजका दौरान कम्तिमा ११ सय व्यक्तिको मृत्यु, ९ सय ३४ जना घाइते ।

