Thursday, April 23

मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु, एक जनाको उपचार हुँदै

नेपाल अखबार, मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ ।
दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए । साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए ।
दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए । त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेला परेको हो । बेहोस भएका लोलाई भने उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । साह र नेपालीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *