Wednesday, April 22

तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस

नेपाल अखबार, तनहुँ । दैनिक ११ टन फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको २ स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो ।
नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो ।
फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर संकलन गर्दै आए पनि असोज ८ गतेदेखि फोहोर उठाउन नसकिएको नगरपालिका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले जानकारी दिएका छन् ।
उनका अनुसार नगरपालिकाले फोहोर उठाउन नसक्ने अवस्था आएपछि बुधबारसम्म घरको फोहोर बाहिर ननिकाल्न स्थानीयवासीलाई आग्रह गरेको छ । नगरपालिकाले यसअघि वडा नं १० र ४ मा पर्ने माथिल्लो भतेरीमा फोहोर विर्सजन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर संकलन गरी अस्थायीरूपमा विर्सजन गर्ने योजना बनाएको थियो ।
वडा नं १ स्थित कुन्छाली टोलमा अस्थायीरूपमा फोहोर व्यवस्थापन गर्ने तयारीका साथ स्थानीयवासीसँग सम्झौता भइसकेको ढुंगानाले बताए । बस्तीदेखि टाढा रहेको उक्त स्थानमा करिब ५ रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्न लागिएको हो । त्यहाँ फोहोर व्यवस्थापन गर्न पाएसँगै कम्तीमा ३ वर्षका लागि तनाव हट्ने अनुमान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विर्सजनस्थल निर्माण कार्य अघि बढाएको छ । वातावरणीय प्रभाव अनुसन्धान रिपोर्ट आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिए पनि नदी कटानले समस्या भएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं व्यास–४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिएका छन् ।
उक्त क्षेत्रमा करिब ७ रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विर्सजनको सम्भावना बढी रहेकोले प्रक्रिया अघि बढिरहेको न्यौपानेले बताएका छन् । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *