Thursday, April 23

जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् ।
संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् । उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् ।
‘जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार हुन् । यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ’,प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘जैविक विविधताले पुस्तालाई जोड्दछ साथै यो राष्ट्रिय सीमारहित हुन्छ ।’
प्रकृतिसँग सामञ्जस्यतामा जिउनु नेपाली संस्कृतिको अभिन्न भाग भन्दैजैविक विविधतासम्बन्धी अमूल्य ज्ञान हाम्रा प्राचिन ऋषि तथा सन्तहरूले पुस्तेनी हस्तान्तरण गरेकाले यसको संरक्षणको महत्व बारे सिकाएको प्रधानमन्त्रीको भनाइ छ । ‘त्यसैले, जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छन् साथै यो क्षेत्रमा राम्रो प्रगति समेत हासिल गरेको छ’, प्रधानमन्त्रीको दावी छ ।
उनले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको र हामीले आइची लक्ष्य ११ हाँसिल गरिसकेको भन्दै सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याउने योजना रहेको बताए ।
प्रधानमन्त्रीले जलविद्युतबाट उपलब्ध हुने स्वच्छ उर्जाले जैविक विविधतामा पर्ने दवावलाई कम गरेको र कानूनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिको माध्यमबाट झण्डै एक दशक यता गैँडाको शिकारलाई शुन्यमा सिमित गरेको जानकारी गराएका छन् ।
‘नेपालमा बाघको संख्या लक्षित वर्ष सन् २०२२ भन्दाअगावै झण्डै दोब्बर हुँदैछ । हाम्रो अनुभवबाट विश्वले सिक्न सक्दछ’प्रधानमन्त्रीले विश्वको ध्यनाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले मानव अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तन तथा वन्यजन्तु विरूद्धका अपराधले जैविक विविधतामा क्षति पुगेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूकोप्रतिवद्धता र कार्यान्वयन भएमात्रै जैविक विविधता संरक्षण गर्न सकिने जनाएका छन् ।
उनले जैविक विविधता संरक्षणमा मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै अझ महत्वकांक्षी लक्ष्यहरू निर्धारण गर्नुपर्र्ने र जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्नपर्नेमा जोड दिएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *