Sunday, February 15

देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’
२१ दिनदेखि अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भनाइ छ ।
सरकारले शुरूवातमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेला नै रोपेको उनको आरोप छ ।
सरकारले संवादमार्फत डा. केसीको मागका बारेमा समाधान खोज्नका लागि सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत हुन प्रधानमन्त्रीसँग उनले आग्रह समेत गरेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *