Sunday, April 19

क्रान्ती कुमारको विराट स्वरूप ।

पुरुषोत्तम पौडेल ,। हेटौडा क्रान्ती कुमार अहिले हाम्रो देशको चर्चित नाम हो । अहिले देशमा वहाको विशेष हाली मुहाली छ । देश भरी क्रान्ती कुमारका गाडी गुडिरहेका छन । हेलिकोप्टर उडिरहेका छन । रेल हुईकी रहेका छन । पानी जहाजमा झण्डा फहराई रहेको छ । चार्टर विमान समेत नियमित छन । क्रान्ती कुमारको झण्डा वुलन्द छ । चारै तिर प्रशंसा मात्र छ । यत्र तत्र सर्वत्र क्रान्ती गीत गुञ्जायमान छ । विशुध्द नया संसार । विशुध्द नया जीवन । आखिर क्रान्तिकुमार न हो ।
हरेक सवरीमा क्रान्ती कुमार कै चर्चा छ । क्रान्तीकुमारको तरिका पनि गज्जब छ नी । डोटीमा डोटेली भएर । पोखरा मा पोख्रेली भएर । सिन्धुपाल्चोकमा फुर्के धोती लाएर । लमजुङमा भाङ्ग्रो भीरेर मन्द मुस्कान सहित क्रान्ती कुमारका स्वर लहरीहरू गुन्जी रहेका हुन्छन । देशमा राजनीतिक क्रान्ती सकियो । अव आर्थिक क्रान्ती गर्ने हो । आर्थिक क्रान्ति गर्नकै निम्ती जनताले मलाई एकलौटी म्यान्डेट दिएका हुन । कसैले सहभागिता खोज्नुको अर्थ छैन । जे गर्छु म नै गर्छु ।
अव सरकारका काममा हस्तक्षेप होईन । सवैले एकलौटी ताली वजाएर सहयोग गर्नु पर्छ । म पनि एकलोटी सरकार चलाई रहन्छु ।
त्यती मात्र होईन । क्रान्ती कुमार हर कुरामा क्रान्ती याने की महान परिवर्तन चहानु हुन्छ । वहा आफुलाई ईश्वरले नै क्रान्ती दुत वनाएर पठाएको दावी गर्नु हुन्छ । वहा देशको भूगोल विज्ञ हुनु हुन्छ । वहा सवै वर्ग, जाती, पेसा धर्म अनी समुदायको ज्ञाता हुनु हुन्छ । वहा नेपाली समाज वारे पूर्ण जानकार हुनु हुन्छ । यहा सम्मकी वहा आफुलाई महिला र अपाङ्ग वनाऊन पनि पछि पर्नु हुन्न । वहा मजदुरबाट आऊनु भयो । किसानको कोखमा जन्मनु भयो । जेलको चार दिवारीमा हुर्कनु भयो । अनी आज जनमतको विशाल कोखमा नया अवतारमा उत्पन्न हुनु भएको छ । यो नै क्रान्ती कुमारको दुर्लभ र विराट स्वरूप हो ।
यस्तो विराट स्वरूप संग परिचित हुन सवै लालयीत छन । म भित्र पनि निकै उत्सुकता जाग्यो । मैले मित्र शान्त दास संग शान्तिपूर्ण तरिकाले सोधे ? को हुन यी क्रान्ती कुमार । जो हाम्रो सुन्दर मातृभूमीमा महान परिवर्तनको दायित्व वोकेर अवतरित भएका छन । जस्लाई हाम्रो भाग्य विधाता वनाएर ईश्वरले नै पठाई दिएका रहेछन । उनले मेरो कानमा आएर सुटुक्क क्रान्तीकुमारको परिचय दिदै भने ” उनी हाम्रा अग्रज हुन । राष्ट्रका मुक्ती दाता हुन । जनताका ऑखाका नानी हुन । देशका नया विज्ञानी हुन । अहिले नेपालको मुक्तिको लागी विराट स्वरूप लिएर आएका हुन “।
म अझै उत्सुक भए । उनी पनि भन्दै गए । अघि बढ्दै गए । ” क्रान्तीकुमार प्रजातन्त्रका शेनानी हुन । पंचायत विरोधी जन आन्दोलनका रचनाकार हुन । पंचायतको अन्तीम अवस्थामा उनी आन्दोलन रोक्न पनि तयार थिए । उग्र हरूले मानेनन । पंचायत काल रात्रिलाई फाली छोडे । नत्र उनले सोझै प्रधानमन्त्री हुने तरिका जानि सकेका थिए । यती मात्र होर ! आन्दोलनको विजय पछिको जनसभामा उनले ” यो जीत सवैको साझा भएकोले अव राजनीतिक क्रान्ती पुरा भएको छ ” भन्दै घोषणा गरेका थिए । अनि संयुक्त जनआन्दोलन सफल भए पछि पनि उनले नै त्यसलाई क्रान्तीमा रूपान्तरण गर्न नया संविधान जारी गर्ने सवै प्रबन्ध मिलाएका हुन रे । उनकै ऑट र सहासले मात्र देशमा पूर्ण प्रजातन्त्र आएको हो रे । अरू पिलन्धरे पानी आन्द्रेहरू त तमासे मात्र थिए ” रे ।
शान्तदास भन्दै छन । ” अहिले त क्रान्ति कुमारले आर्थिक अवतार धारण गरि सकेका छन । आर्थीक क्रान्तीको पहिलो पाइला टनकपुर थियो । पानी बिजुली भारतलाई, बाढी र नदि कटान नेपाललाई । भै सकेको छ । उनी कहिल्यै पछि फर्केर हेर्दैनन । विरोधिका कुरा पनि सुन्दैनन । काग कराउदै छ , पिना सुक्दैछ । उनि अघी वढि रहन्छन । उनको दोश्रो शसक्त पाइला निजीकरण थियो । उद्योग धन्दा र नाफा जति दलाल पुजीपतिलाई । फोहर मैला र घाटा जति नेपाल र नेपाली जनताहरू लाई । क्रान्ती कुमारको तेस्रो पाईला हो ” कर्णाली नदीको सुम्पुवा सम्झौता ” अनी मेडिकल कलेज खोल्ने नाममा दलालपुजीपती र विदेशी प्राविधिक भित्र्याऊने योजना हो । धन्य धन्य छ क्रान्तीकुमार लाई । परिवर्तन का वाहक जन नायक लाई “।
उनी अझ रोकिएका छैनन । ” यती मात्र हो र ! क्रान्ती कुमार अहिले आर्थिक क्रान्तीको महायज्ञमा होमिनु भएको छ । देशका गरिब र गरिवी प्रती वहाको ठुलो चिन्ता छ । त्यसैले वहा निजीकरण मात्र होईन व्यापक रूपमा विदेशी लगानी भित्र्याएर नेपाली जनतालाई धनी वनाऊन चहानु हुन्छ । वहा ज्यादै बेचैन हुनु हुन्छ । देश र जनताको पीडाले वहालाई कहिले काही असन्तुलित समेत वनाऊने गर्दछ । विदेशी ऋण र सहयोगको ओइरो लागी रहेको छ । वहालाई अझै चित्त बुझेको छैन । त्यसैले अनुदानका अनुयायी खोजी रहनु भएको छ । वहाले भेट्टाऊनु भएका होनहार अनुदान पन्थीलाई छोड्दै छोड्नु हुन्न । वहाले विश्व वैक वाटै झिकाउनु भएको हो । सर्वत्र उनको आवस्यकता छ । गज्जवको व्यक्तित्व सवै तिर फिट हुन्छ । दोश्रो विराट स्वरूप हो “।
आफन्तहरूलाई उपयुक्त आर्जनमा लगाई दिनु भएकोले वहाको व्यक्तित्वमा अझ निखार आई रहेको छ । खास खास पकेटमा वजेट र खास खास पकेटलाई निययुक्ती दिनु हुन्छ । वहाको आर्थीक क्रान्तीले विराटनगर -७ का भुटाई साह, काठमाडौंका पुन्टे महर्जन र कावासोतीका जोगी चौधरी जस्ता हजारौको रोजगारी लुटिएको छ । ‘कस्ता कस्ता कहा गए, मुसाका छाउरा जन्त गए’ भने जस्तो जाबो भुटाई साह । यत्रो ठुलो क्रान्ती यज्ञमा । यो त विरोधीहरूको बेकारको आरोप मात्र हो । अली अली त घुन पिसाई हाल्छ नी “। मित्र शान्तदास भन्दै गए ।
धन्य हो ! नेपाली जनताको अहो भाग्य । २००७ साल र २०१५ सालको हुबहु क्रान्ती कुमारको नक्कल २०४७ सालमा अवतरण गराऊन सक्नु । धन्य छ ! नेपाल आमा । हरेक पटक देशमा लेण्डुपकै झल्को देखीनु । हरेक निर्णय स्वदेश भन्दा विदेशकै खुशीको लागी हुनु । परोपकारको उत्कृष्ट नमुना देखाऊनु । राजधानी वाहेक अन्तको थोरै पनि ख्याल नगरीनु । कस्तो कागताली नेपाली जनताको । अहिले पनि क्रान्तीकुमारका नाममा उस्तै भ्रान्ति कुमार पाउनु । राजनेता को प्रचार भित्र उस्तै उस्तै तन्त्र मन्त्र आउनु ।
पाठक वृन्द । क्रान्ती कुमारको विराट स्वरूपको वर्णन गरी साध्य छैन । उनको परिचय र विशेषता अरूपनि धेरै छन । समय क्रममा आफै प्रकट भएर आऊने नै छन । आउने दिनमा पनि क्रान्तीकुमारको भयानक रूप प्रकट हुन सक्छ । म चहान्छु यस्ता क्रान्तीकुमार देशले फेरी वेहोर्नु नपरोस । क्रान्ति कुमारहरूमा पनि सुधार आओस । मैले यसो भनि रहदा पाठकहरूको अगाडी क्रान्ती कुमारको उही रियल तस्विर आऊनु पर्दछ । रियल तस्विर आयो भने मात्र लेखक सफल हुन्छ । सफलताको समाचार दिदै गर्नु होला । आजलाई क्रान्तीकुमारको विराट रूप यत्ती नै । वस आगे जो मर्जी ।।।
( २०५० मा लेखीएको व्यङ्ग्य लेख, सम्पादन सहित )

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *