Saturday, April 18

कोरोना नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो- कांग्रेस

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको आरोप लगाएको छ । काँग्रेस सहमहामन्त्री एवं कोभिड—१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेसनको व्यवस्था गर्न नसकेको बताए ।
‘विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भएपनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ,’ महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ ।’
जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नुपर्ने परिस्थिति बनेको महतको भनाइ छ । तर सरकार संक्रमण झन बढ्ने खतराप्रति पुरै उदासिन बनेको उनले बताए । मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था नभएका संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न काँग्रेसले माग गरेको छ । ‘जो संक्रमितहरुमा कोभिड–१९ को लक्षणहरु देखिएका छन्, उनीहरुलाई पनि अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग हामी माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *