Tuesday, December 9

डब्लूएचओ, ग्रेटा र पत्रकार संस्थाः कसले पाउला यो वर्षको नोबेल शान्ति पुरस्कार?

नेपाल अखबार, एजेन्सि। यस वर्षको नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा हुँदैछ। ६ विधामध्ये सबैभन्दा चर्चामा रहने शान्ति पुरस्कार यसवर्ष कसले जित्ला भन्ने विषयमा अनेक आकलन भइरहेका छन्।
बुकीहरुको नजरमा पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अग्रपंक्तिमा देखिएको छ। विज्ञहरुले भने जलवायु अभियन्ता ग्रेटा ट्युनबर्ग र प्रेस स्वतन्त्रतासम्बन्धी समूहरुको सम्भावना ज्यादा रहेको बताएका छन्।
ती समूहमा रिपोर्टस विदाउट बोर्डर्स र कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स रहेको बताइन्छ।
ग्रेटाको नाम गतवर्ष पनि अग्रपंक्तिमा थियो तर, इथियोपियाका प्रधानमन्त्री अबि अहमदले पुरस्कार हात पारेका थिए।
यसवर्ष यो पुरस्कारका लागि ३१८ व्यक्ति तथा संस्था मनोनित भएका छन्। जसमा २११ व्यक्ति र १०७ संगठन छन्। तर, को को मनोनित भएका छन् भन्ने चाहिँ गोप्य राख्ने गरिन्छ।
तर, महामारीका कारण यसपटक डब्लुएचओ पनि बलियो दाबेदार बनेको छ। यद्यपि थुप्रैले यो राष्ट्रसंघीय संस्थाको आलोचना पनि गरेका छन्।
यीबाहेक ट्रान्सपरेन्सी इन्टरनेसनल, विश्व खाद्य कार्यक्रम, राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेस, जर्मन चान्सलगर एन्जेल मर्केल, अफगानी नेतृ फौजिया कुफीको नाम पनि अगाडि छ।
त्यस्तै, अमेरिकी सेना र सरकारका गुप्त सूचना बाहिर ल्याउने तीन व्यक्ति जुलियन असान्ज, एडवार्ड स्नोडेन र चेल्सी म्यानिङका साथै ग्रिसका पूर्व प्रधानमन्त्री एलेक्सिस सिप्रासको नाम पनि चर्चामा छ।
नर्वेका दुई सांसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि मनोनित गरेका छन्। तर, विज्ञहरु उनले पुरस्कार नपाउने दाबी गर्छन्।
‘ट्रम्पले नोबेल शान्ति पुरस्कार होइन, आफ्ना ट्विटका कारण साहित्यमा चाहिँ नोबेल पुरस्कार पाउने सम्भावना बढी छ,’ ओस्लोस्थित पिस रिसर्च इन्स्टिच्युटका निर्देशक हेनरिक उर्दाल भन्छन्। एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *