Thursday, April 23

बागलुङमा शिक्षाका योजना प्रभावित

नेपाल अखबार, बलेवा । जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् । गाउँपालिकामा ठूलो सङ्ख्यामा बाहिरबाट आउनेलाई राख्ने गरी पूर्वाधार नभएकाले विद्यालयलाई क्वारेन्टिन बनाउँदा विकासका काम प्रभावित भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताउनुभयो ।
विद्यालय भवनदेखि शौचालय निर्माण र विद्यालय भवन मर्मतसम्मका काम प्रभावित भएका हुन् । गाउँपालिकाले गत आवमा शिक्षा क्षेत्रमा ४० योजनामा बजेट विनियोजन गरेको थियो । तीमध्ये ३४ योजना मात्रै सम्पन्न भएका छन् । “अन्य पूर्वाधार विकासका योजनामा खासै असर गरेन्, तर विद्यालयमा क्वारेिन्टन बनाउँदा योजना प्रभावित भए” उहाँले भन्नुभयो ,“कोभिडले देख्नेगरी जसरी असर गरिरहेको नदेखिने गरी अझै बढी प्रभावित बनायो ।”
गत आवदेखिनै सञ्चालनमा ल्याउने भनिएको उद्योगग्रामको काम पनि कोभिड–१९ का कारण प्रभावित भयो । प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गर्न लागिएको उद्योगग्राममा चालु वर्षमा संरचनाहरु निर्माण हुनेछन् । गाउँपालिकाले गत आवमा बहुउद्देश्यीय सभाहल बनाएको छ । चालीस लाख खर्चेर खेल मैदान निर्माण पनि कोरोना कहरकै बिचमा भयो । वडा नं ४ को प्रशासनिक भवन ७५ लाख खर्चेर बनाइएको सूचना अधिकारी प्रकाश गैरेले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाई भवन र केही महत्वपूर्ण सडकका काम भने कोरोना कहरकै बीचमा भए । गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रमा विनियोजन गरेको रकम कार्यान्वयनमा ल्याउन पाएन् । “पूर्वनिर्धारित कार्यक्रम भएकाले जसोतसो कार्यान्वयन गरियो” उहाँले भन्नुभयो, “दुवै क्षेत्रमा एक करोड १ लाखभन्दा धेरै बजेट विनियोजित थियो ।”रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *