Tuesday, April 21

चीनमा अनौठो घटना : संक्रमणमुक्त भएको २ महिनापछि आँखामा कोरोना, तीनपटक अपरेसन गर्नुपर्‍याे

नेपालअखबार, एजेन्सि। चीनमा कोरोना भाइरस संक्रमणसम्बन्धी एउटा अनौठो घटना भएको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार संक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएका हुन्।
विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ।
लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिला गत जनवरी ३१ मा अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो पनि आएको थियो। छातीको सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण देखियाे।
त्यसपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यतिबेला उनको अवस्था गम्भीर भएको थिएन भने आँखामा पनि कुनै समस्या देखिएको थिएन।
फेब्रुअरी १८ र २० मा गरिएका पुनः परीक्षणमा रिपोर्ट कोरोना नगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे थियो। तर त्यसकाे ८ दिनपछि उनको दाहिने आँखा दुख्न थाल्यो। फेब्रुअरी २८ तारिखपछि दुखाइ बढ्दै गएर उनको दृष्टि नै कमजोर बन्यो। हुँदाहुँदा दुखाइ सहन नसक्ने भयो। त्यसपछि उनी मार्च ८ मा पुनः अस्पतालमा भर्ना भइन्।
पहिला औषधि दिएर पीडा कम गर्ने प्रयास गरिए पनि आराम नभएपछि उनको आँखाको अपरेसन नै गरिएको चिकित्सकले बताएका छन्। चीनको वुहानस्थित सेन्टर थिएटर कमान्ड अस्पतलामा उनको आँखाको दुईपटक अपरेसन गरिएको हो। मार्च १४ मा दाहिले र १५ मा देब्रे आँखाको अपरेसन गरिएको अस्पतालले जनाएको छ।
सर्जरीपछि पनि आँखामा लगातार दबाब र पीडा भइरहेपछि अप्रिल १० अप्रिलमा पुनः अपरेसन गरिएको दैनिक भास्करले लेखेको समाचारमा उल्लेख छ।
अपरेसन क्रममा उनका आँखाबाट लिएको टिस्युको नमुना परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको प्रोटिन पाइयो। जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार बिरामीको ‘ओक्युलर मेनिफेस्टेसन’ समस्या देखियो। यस्तो अवस्थामा आँखा रातो हुने र सुन्निने गर्छ।
यसअघिको अध्ययनले आँखाको बाहिरी तह तथा आँशुमा पनि कोरोना भाइरस रहेको पत्ता लगाएको थियो। यहाँबाट पनि संक्रमण फैलिन सक्ने अनुसन्धानकर्ता बताउँछन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *