Friday, April 24

म्याग्दीको घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन ।
परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो । “दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुप¥यो”, उहाँले भन्नुभयो, “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं ।” पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ ।
पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले नौ महिनासम्म पनि पुल निर्माण शुरु हुन नसकेको शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।
“घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो”, वडाध्यक्ष तिलिजाले भन्नुभयो, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।” पुनः डिपिआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुने स्थानीयवासीको चिन्ता छ । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताउनुभयो ।
“डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन स्वीकृति पाएका छौँ”, उहाँले भन्नुभयो, “ठेकेदारलाई काम शुरु गर्न निर्देशन दिएका छौँ ।” परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य नौ महिनापछि धकेलिएको हो । दशैँलगत्तै काम शुरु गर्ने निर्माण व्यवसायी आचार्यले बताउनुभयो । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *