Wednesday, August 5

धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो : मन्त्री आले

विमल विष्ट,  डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ ।

Advertisement

सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले धर्म र संस्कृति बिना मानिस अन्धो हुने भएकाले आफ्ना धर्म र संस्कृतिको सबैले जगेर्ना गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना कला, संस्कृति तथा धर्म भनेका नेपालीका पहिचान हुन, भावी पुस्ताका लागि भएपनि तिनीहरुको संरक्षण तथा सम्बद्धन गर्न जरुरी भएको छ ।”

Advertisement
Advertisement

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपाली कला, धर्म र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेकाले आम नेपाली दाजु भाइले आफ्ना कला, संस्कृति र धर्मको संरक्षणमा जुट्नु पर्ने बताउनुभयो । उहाँले थप भन्नुभयो, “हाम्रा कला, संस्कृति हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमणमा आउने गरेका छन् । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनु हुँदैन ।”

Advertisement

पछिल्लो समय हाम्रो कला, संस्कृति तथा धर्मको पहिचान सङकटमा पर्न थालेको प्रति चिन्तित हुँदै मन्त्री आलेले पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानको बारेमा जानकारी दिनको लागि भएपनि हाम्रा धर्म, संस्कृति तथा कलाको संरक्षण हुन आवश्यक रहेको जानकारी दिनुभयो ।

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति, धर्म तथा कला बोकेका परम्पराहरु सङकटमा पर्न थालेको बताउनु हुँदै मन्त्री आलेले युवापुस्तालाई ती चिजको संरक्षण गर्नका लागि आग्रह समेत गर्नुभयो । हाम्रा मौलिक गाथा बोकेका धर्म, कला तथा संस्कृति लोप हुन नदिन सबै नागरिकले लाग्नु पर्ने मन्त्री आलेको भनाइ थियो ।

डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पुर्वाधार योजनाको मन्त्री आलेले आजै शिलन्यास गर्नु भएको हो । उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । बोगटान क्षेत्रको घना जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले भाकल गर्न तथा दर्शन गर्नका लागि बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । उक्त पदमार्ग निर्माण पछि पर्यटकहरुलाई तीर्थ यात्रा तथा बडिकेदारको दर्शनका लागि सहज हुने भन्दै स्थानीयवासी खुशी भएका छन ।