Thursday, April 23

अध्यक्ष नेपालको प्रश्न- एसपिपीबारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभए हामीलाई झन् कसरी थाहा हुने

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी नदिईकन सेनाले पत्राचार गरेको अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा सेनाले पठाएको पत्र हालै सार्वजनिक भएको थियो।

Advertisement

‘तत्कालीन प्रधानमन्त्रीले पत्र पठाउँदा थाहै दिइएन भन्नुभएको छ। यो कुरा सही वा गलत थाहा छैन,’ आज सम्पादकहरूसँग अन्तर्क्रियामा उनले भने, ‘तत्कालीन प्रधानमन्त्रीलाई थाहा नभए हामी पूर्व प्रधानमन्त्रीलाई कसरी थाहा हुने? कि अन्यरयामी हुनुपर्‍यो कि ज्योतिषी!’

उनले राष्ट्रिय मुद्दामा संवेदनशील रहेको बताउँदै अनुचित सम्झौता नहोस् भनेर सरकारलाई आफूहरूले बताइरहेको पनि जानकारी गराएका थिए।

सत्ता गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात हुने सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिवद्धता जनाएको अध्यक्ष नेपाल बताउँछन्।

‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सम्झौतामा मबाट हस्ताक्षर हुने छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। गृहमन्त्रीले पनि संसदमा यसबारे बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन,’ उनले भने।