Tuesday, May 5

मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च

विलम विष्ट,  काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएका छन् ।

निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

Advertisement

तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको रु ३५ लाख जोगाइदिएका छन् ।

निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउदा कम्तीमा पनि रु ५० लाख लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उद्धेश्य भम्रणमा पठाउदा रु ५० लाख खर्च लाग्ने भएपछी मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि रु ३५ लाख जोगाउनु भएको छ । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च रु १५ लाख ७४ हजार हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको रु ३४ लाख २५ हजार ६२५ जोगिने भएको छ ।

अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिएका थिए । तर अधिकारीले मन्त्रीको निर्देशन लत्याउदै खर्चहरु गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोध्नु भएपछी अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सि जाँचकालागि जम्बो टोलीको सूची तयार पारेका थिए । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिएको छन् ।