
नेपालअखबार । हाल निर्माणाधीन स्थानको विकल्प खोज्न दिएको सर्बोच्च अदालतको आदेश विपरीत सत्तारुढ गठबन्धनका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने निस्किएका सत्तारुढ गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री देउवाले सुरुमा दुई वटा रनवेसहितको विमानस्थल निर्माण छिट्टै सुरु गर्न निर्देशन दिएका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । तराई–मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ स्वागतयोग्य रहेको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सङ्कल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाएको बताइन् ।
कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागी थिए ।
उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएका प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।
हालै सर्वोच्च अदालतले निजगढ विमानस्थलसम्बन्धी एक फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जसमा निजगढमा विमानस्थल बनाउने विषयमा हालसम्म गरेको निर्णय र काम रोक्न आदेश दिएको छ । यदि विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त फैसलाले निजगढमै विमानस्थल निर्माणको बाटो नरोकेको बुझाइमा रहेको सत्तारुढ दलका नेताहरु शनिबार स्थलगत रुपमै प्रस्तावित विमानस्थल अवलोकन गर्न पुगेका हुन् ।

