
नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन् । उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए । समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन कायमै रहने बताए ।
अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा गठबन्धनको मात्रै भर नपर्ने बताए । राजनीतिमा विश्वासले पनि सम्बन्ध कायम राख्ने बताउँदै विगतमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग गरिएका कतिपय सम्झौताले पनि यसको आधार तय गरेको उनले बताए ।
उनले भने, ‘२०६३ सालमा मैले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाए र २०६६ मा उनले मलाई प्रधानमन्त्री बनाए ।’ गिरिजाले आफूलाई ६३ सालमा लगाएको गुन तिर्न ६६ मा प्रधानमन्त्री बनाएको स्मरण गरे । नेपालमा वाम दलहरूका बीच धेरै मुद्दा मिल्ने भएकोले गठबन्धन हुने गरेको बताउँदै उनले वामपन्थी दलहरू मिल्दा काँग्रेस आत्तिन नहुने बताए । अहिले वामदेव गौतमले ल्याएको वाम एकताका विषयमा पनि छलफल भैरहेको उनले बताए । तर एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको गुनासो उनले गरे । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहाँबाट बन्द हुनु ?’ सम्वाददाताहरुले राखेको जिज्ञासामा उनले भने– ‘हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ, हामीले उठाएका इस्युहरु ज्यूँदै छन् ।’

