
नेपालअखबार, काठमाडाैं । सरकारले संसदमा पेश गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ।
संविधानमानै गैर आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो।
विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ताव गरेको हो। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव विधेयकमा छ।
गैर आवासीय नागरिकताका लागि पाँचवटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
- पहिलो, यस्तो नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।
- दोस्रो, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण। तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
- चौथो, दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण।
- पाँचौं, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र।
झुटा विवरण बुझाएर गैर आवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि १ वर्षसम्म कैद र २५ हजारदेखि ५० हज़ार जरिवाना हुने प्रस्ताव विधेयकले गरेको छ।
गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन लगायतका राजनीतिक अधिकार भने पाउने छैनन्।
यसले सम्पत्ति राख्न, व्यापार व्यवसायमा लगानी गर्न, चाडबाड मनाउन लगायतका अधिकारमात्र दिने हो।

