Friday, April 24

पूर्व श्रीमतीलाई जिउँदै जलाउने चिनियाँ पुरुषलाई दिइयो मृत्युदण्ड

नेपालअखबार, एजेन्सि । पूर्व श्रीमतीलाई जिउँदै जलाउने  एक चिनियाँ पुरुषलाई मृत्युदण्ड दिइएको छ ।

लामू नाम गरेकी ती महिला चीनको टिकटक भर्सन दोउयिनकी चर्चित सोसल मिडिया पर्सनालिटी थिइन् ।

Advertisement

उनका हज्जारौँ फलोअर्सले सिचुवान प्रान्तमा उनले व्यतित गरिरहेको दैनिकी देखेका छन् । उनीमाथिको घटनाले चीनमा घरेलु हिंसाबारे उजागर गरेको छ । एक सर्वेक्षणका अनुसार एक चौथाई चिनियाँ महिला घरेलु हिंसाको शिकार छन् ।

दुई सन्तानकी आमा उनले आफ्ना श्रीमानको दुर्व्यवहारबारे प्रहरीलाई पनि जानकारी दिएकी थिइन् तर उनीहरु विवाहित भएकोले यसलाई घरको कुरा भनेर खासै वास्ता गरिएन ।

उनका श्रीमान् ताङ लुलाई मृत्युदण्डको सजाय सुनाइँदा सिचुआन प्रान्तको दक्षिण(पश्चिममा रहेको दुर्गम ग्रामीण इलाका आबा प्रान्तको अदालतले उनको अपराधलाई ‘अत्यधिक क्रुर’ र समाजमा यसको प्रभाव असाध्यै नराम्रो भएको बताएको छ । आबा प्रान्तमा ठूलो संख्यामा तिब्बती बसोबास गर्दछन् ।

लामुले ताङसँग सन् २०२० मा सम्बन्धविच्छेद गरिन् । यसबारे अदालतले भन्यो, ‘उनीमाथि घरेलु हिंसाको इतिहास छ ।’

सम्बन्धविच्छेद गरेको करिब तीन महिनापछि उनले आफ्नी पूर्व श्रीमतीलाई उनको पिताको घरमा पेट्रोल छर्केर आगो लगाइदिए । उनको शरीरको ९० प्रतिशत जलेको थियो र दुई हप्तापछि उनको निधन भयो ।

यस मुद्दाले देशभर आक्रोश पैदा गर्‍यो र महिला हिंसा बारे नयाँ बहसलाई उत्प्रेरित गर्‍यो ।

लामुका हजारौं फलोअर्सले उनको दोउयिन पृष्ठमा सन्देशहरू छोडे । यस्तै, माइक्रोब्लगिङ प्लेटफर्म विबोका लाखौँ प्रयोगकर्ताहरूले ह्यासट्यागहरू प्रयोग गरेर न्यायको लागि आह्वान गरे जुन पछि सेन्सर गरियो ।

चीनले सन् २०१६ मा घरेलु हिंसालाई अपराधीकरण गर्यो तर ग्रामीण इलाकामा घरेलु हिंसाका घटना व्यापक हुने गरेको छ ।

सम्बन्धविच्छेद गर्न चाहने दम्पतीहरूका लागि भर्खरै लागू गरिएको अनिवार्य ३० दिनको ‘कूलिङ अफ’ अवधिले महिलाहरूलाई अपमानजनक सम्बन्ध तोड्न गाह्रो बनाउन सक्ने धेरैले बताएका छन् ।