
नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाडौमा भएको बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ’ अध्यक्ष नेपालको भनाइ छ । उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए । उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।
‘इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’
उनले कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नुहनेमा जोड दिए । अध्यक्ष नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता रद्द भएको विषयमा अमेरिकालाई पत्र लेख्न ढिलाढाला गर्न नहुने बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बताए
‘मैले र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्त चिठी पठाउनुस् ढिलाढाला हुने काम नहोस् भन्यौं’ नेपालले भने, ‘जनताको तहबाट पनि आवाज उठ्नुपर्छ । जनता सजक हुनुपर्छ । नेपाली राष्ट्रियता जोगाउने भनेको नेपाली जनता हुन् । जनतामा चेतना र जागरण आयो भने आवाज बुलन्द हुन्छ ।’ एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीको समन्वयमा भएको नेपालले बताए ।
‘नेपालले एसपीपी सम्झौताको पत्र पठाएको रहेछ । आर्मीले पठाउनै नहुने पत्र पठाएको रहेछ । त्यो पनि प्रधानमन्त्री केपी ओलीको स्वीकृत लिएर पठाएको रहेछ । विडम्बना भयो’ नेपालले भने, ‘त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दियौँ । दिएपछि स्वीकार गर्ने नेपाली सेनाले पनि अस्वीकार गर्ने कुरा भयो ।’

