
नेपालअखबार, , रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन ।
नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन ।
गौर नगरपालिका–२ मा तीनसय दर्शक क्षमताको टाउन हलको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री नेपालले रौतहटको समग्र विकासका लागि आफू सदैव लागिरहेको बताएका छन् । सदरमुकाम गौरको विकासका लागि यी योजनाहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारले रौतहटको विकासका लागि विभिन्न योजनाहरु राखेको बताए । टाउनहल, विवाह भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडकहरु समयमै सम्पन्न गर्नका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले काम गर्ने मन्त्री चौधरीले बताए ।सघन शहरी तथा भवन निर्माण आयोजनाले गौर नगरपालिका–२ मा २० करोडको लागतमा टाउन हल, गौरको कबिर चोकमा ८ करोडको लागतमा विवाह भवन तथा १४ करोडको लागतमा टिकुलिया, सिर्सिया र सबगढामा सडक तथा ढल निर्माणको काम गर्ने गौर नगरपालिकाका मेयर शम्भू साहले बताए ।

