Tuesday, July 21

वडाध्यक्षलाई नै बोक्सोको आरोप, स्थानीयले लगाए जुत्ताको माला

चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीय घेरा हाले। उनीहरूका हातमा मोसो थियो। जबरजस्ती मोसो प्रजाको मुखमा दले। उनीहरूले जुत्ताको माला पनि ल्याएका थिए। त्यो माला प्रजाको गलामा हाले।
पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दु:ख दिएकाले प्रजालाई मोसो दलिएको भने होइन। बरू उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको सिकार भए। मोसो दल्ने र जुत्ताको माला लगाउनेले उनीमाथि बोक्सोको आरोप लगाए।
स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्थे। नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे।
‘पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे,’ प्रजाले टेलिफोनमा सेतोपाटीसँग भने,’शनिबार भने गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए।’
गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्रजाको भनाइ छ।
‘उत्तरकुमार गुरूङका बुवाले मलाई बोक्सोको आरोप लगाए,’ प्रजाले भने,’दिसा पिसाब समेत खुवाउने भन्दै थिए, पछि मैले प्रतिकार गरें।’
घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरीका डिएसपी एकनारायण कोइरालाले अभियुक्तबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *