Friday, July 17

थाइल्यान्डको नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।

Advertisement

स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।

Advertisement
Advertisement

प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो।

Advertisement

१३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसैबीच प्रधानमन्त्री प्रयुथ चान-ओचाले व्यवसाय सञ्चालकलाई सुरक्षाका उपायहरू सुनिश्चित गर्न आग्रह गरेका छन्।

कोरोना भाइरस हल्का भएसँगै थाइल्याण्डमा पर्यटकको संख्या बढेको छ। विशेष गरी ठूलो संख्यामा पर्यटकहरू आउने यस्ता क्षेत्रमा सुरक्षाका सबै उपाय अपनाउन सरकारले आग्रह गरेको छ।

यसअघि सन् २००९ जनवरी १ मा बैंककको सान्टिका नाइट क्लबमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।