Thursday, July 16

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

नेपालअखबार, दमौली । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो ।

Advertisement

उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदाललते जनाएको छ ।

Advertisement
Advertisement

अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । सम्बन्ध विच्छेदका २५१ मुद्दा फर्छ्यौट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरिआएको छ ।

Advertisement

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ ।

बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा .जस्ता कारणले सम्बन्ध विच्छेदको मुद्दा बढेको बताइएको छ ।

यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फर्छ्यौट भएको छ । अंशतर्फ चार सय आठ मुद्दा रहेकामा १५९ थान मुद्दा फर्छ्यौट भएको छ । लिखत बदरतर्फ १२० मुद्दा रहेकामा ३५ मुद्दा फर्छ्यौट भएको छ ।

जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फर्छ्यौट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फर्छ्यौट भएको छ ।

डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फर्छ्यौट भएको छ ।

अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ । अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन् ।

अदालतले सो अवधिमा ५४.५६ प्रतिशत मुद्दा  फर्छ्यौट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फर्छ्यौटगरेको हो ।

अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फर्छ्यौट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिए ।

त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले ६२४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फर्छ्यौट गरेका छन् ।

‘गत वर्ष कोरोना कहरका कारण भएको निषेधाज्ञाका कारण मुद्दा फर्छ्यौटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फर्छ्यौटमा कमी आएको छ’ श्रेस्तेदार कुँवरले भने ।

अदालतले उक्त वर्षमा एक हजार २३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार १९३ हुने र एक हजार ५७६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फर्छ्यौट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताए ।

अदालतमा अब एक हजार १३६ मुद्दा फर्छ्यौट हुन बाँकी छ । फर्छ्यौट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरेर आउँछ । रासस