Wednesday, July 15

अध्यक्ष नेपालकाे कार्यकर्तालाई निर्देशन समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुनु

नेपालअखबार, काठमाडाैं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्दैछ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य छ। यो लक्ष्य चुनौतीपूर्ण रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।

Advertisement

पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’

Advertisement
Advertisement

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न  प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्छ।

Advertisement

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउने गरी पार्टी पंक्तिलाई परिचालन गर्ने काम भइरहेको सचिव रामकुमारी झाँक्री बताउँछिन्।

‘प्रतिनिधि सभाको निर्वाचनमार्फत् एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन हामीले संगठनलाई परिचालन गरिरहेका छौं।जनवर्गीय संगठनलाई क्रियाशील राखेका छौं। समानुपातिकतर्फ मत अधिकतम् संकलन गर्ने हिसाबले प्रशिक्षणका काम भइरहेका छन्,’ उनले भनिन्।

स्थानीय चुनावमा एकीकृत समाजवादीको कति छ लोकप्रिय मत?

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा एकीकृत समाजवादीको लोकप्रिय मत ३.६६ प्रतिशत छ। वडाध्यक्षमा खसेको सदर मत १ करोड १५ लाख ४ हजार ३८ मतमध्ये एकीकृत समाजवादीका उम्मेदवारले ४ लाख २२ हजार ७ सय ३७ मत पाएका छन्।

एकीकृत समाजवादीले देशभरि २ हजार ४१ वडामा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय ९०  वडामा उसका उम्मेदवारले अध्यक्ष जितेका छन्। एकीकृत समाजवादीले सबैभन्दा धेरै मत मधेस प्रदेशमा पाएको छ। मधेसमा ७ सय ९ वडाध्यक्षमा उम्मेदवारी दिँदा ८० वडाध्यक्ष समाजवादीबाट विजयी भएका छन्।  मधेसमा समाजवादीका वडाध्यक्ष उम्मेदवारले १ लाख ५८ हजार १ सय १ मत ल्याएका छन्।

एकीकृत समाजवादीकी सचिव झाँक्री आफ्नो पार्टीको मात्रै मत तीन लाख रहेको दाबी गर्छिन्।

‘स्थानीय तहमा हामीले अरूबाट पनि मत पाएका छौं। हाम्रो मात्रै मत तीन लाख हो,’ उनले भनिन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले २९ मध्ये ६ वटामा उम्मेदवारी दिएको थियो। ती मध्ये चार वटामा तालमेल हुँदा तीन वटा जितेको थियो। अन्यमा समाजवादीले अरूलाई सहयोग गरेको थियो। पोखरा महानगरपालिकामा तीन वडा  र हेटौंडा उपमहानगरपालिकामा एउटा वडामा उम्मेदवारी दिएर अन्य दललाई सहयोग गरेको थियो।

स्थानीय चुनावमा एकीकृत समाजवादीले झन्डै दुई तिहाइ वडामा उम्मेदवारी दिएको थिएन। देशव्यापी संगठन भएको एमालेबाट छुट्टिएर बनेको पार्टी भएकाले एकीकृत समाजवादीका मतदाता देशैभरि छन्। उम्मेदवारी नदिएका वडामा आफ्नो मत अरू दललाई गएकाले लोकप्रिय मत बढ्ने एकीकृत समाजवादीको दाबी छ।

एमालेले पनि एकीकृत समाजवादीका कारण आफ्नो पार्टीको करिब पाँच लाख मत खोसिएको दाबी गर्दै आएको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा थप क्षति हुन नदिनका निम्ति एकीकृत समाजवादीबाट कार्यकर्ता तान्ने प्रयत्न एमालेले जारी राखेको छ।

एमालेले एकीकृत समाजवादीका जनवर्गीय तथा भ्रातृ संगठनबाट कार्यकर्ता तान्ने प्रयत्न गरिरहेको छ भने प्रतिनिधि सभामा टिकट दिने आश्वासन दिएर अहिलेका सांसदलाई पनि भित्र्याउन खोजिरहेको छ। चुनावअघि एकीकृत समाजवादीका सांसद एमालेमा फर्किए भने आगामी चुनावमा राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई चुनौती थपिने देखिन्छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झन्डै १ करोड ८२ लाख मतदाता छन्। राष्ट्रिय दल बन्न मतदानको दिन खसेको मतमध्ये कुल सदर मतको तीन प्रतिशत मत एकीकृत समाजवादीलाई आवश्यक पर्छ।

‘राष्ट्रिय आवश्यकताका लागि एकीकृत समाजवादी गठन भएको हो। हाम्रा अघि केही चुनौती छन्। सबैको सामाना गर्दै हामी राष्ट्रिय दलको हैसियत प्राप्त गरेरै छोड्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने।