Saturday, April 18

जिल्ला अस्पतालमा बेतिथी, सरकारी एम्बुलेन्स नै ठेक्कामा

मोहसिन अलि मियाँ
गोरखा ।  गोरखा अस्पतालले सञ्चालन गरेका दुई मध्ये एउटा एम्बुलेन्स ब्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन गरिरहेको खुलेको छ । केहि महिनाअघिदेखि मासिक ५ हजार भाडा लिनेगरी अस्पताल ब्यवस्थापन समितिले ब्यक्तिलाई एम्बुलेन्स भाडामा दिएको पाइएको हो ।
सरकारी साधान भाडामा दिन नपाउने कानुनमा उल्लेख भएपनि त्यसको उल्लंघन गर्दै समितिले ब्यक्तिलाई ठेक्कामा दिएर सञ्चालन गरेको हो । केहि महिनाअघि मात्रै प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स समन्वय समितिले जिल्लाका कुनै पनि संघसंस्थाले एम्बुलेन्स भाडामा दिन नपाउने गरी रोक लगाएको थियो । तर सरकारी अस्पतालकै एम्बुलेन्स भाडामा सञ्चालनमा रहेको खुल्न आएको छ ।
झण्डै १५ बर्षअघि जापानको सिनोन नामक संस्थाबाट सहयोग प्राप्त ग १ च २४०६ नम्बरको एम्बुलेन्सलाई समितिले चालक समेत रहेका हरिशरण गोदार थापालाई भाडामा दिएको हो । ‘यो म आउनुअघि नै भएको निर्णय रहेछ, मासिक ५ हजार आम्दानी देखिएपछि मैले स्रोत खोज्दा पछि मात्रै थाहा भयो’ अस्पतालका निमित्त प्रमुख नविन थापाले भने ।
तर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याल भने यस बिषयमा आफुलाई जानकारी नै नभएको बताउछन् । समितिको बैठकबाटै भएको निर्णयबारे आफु अनविज्ञ रहेको गैरजिम्मेवार जवाफ दिदै उनि पन्छिन खोजे । ‘बिग्रिएर धेरै समय पार्किङमा थन्कियो, मर्मत गर्ने कि लिलामी गर्ने भनेर बैठकमा छलफल भएको हो’ अध्यक्ष अर्यालले भने ‘निर्णय के भएको छ मलाई जानकारी छैन ।’
सोही ब्यवस्थापन समिति अन्तरगत नै रहेको एम्बुलेन्स सञ्चालन उपसमितिका संयोजक भाइचन्द्र श्रेष्ठले भने एम्बुलेन्स आफुहरुकै मातहतमा चलेको दावी गर्छन् । ‘एम्बुलेन्स हाम्रै मातहतमा छ, ब्यक्तिलाई चलाउन मात्र जिम्मा दिएका हौं’ उनले भने ‘अस्पतालसंग मर्मत गर्ने रकम नभएर ब्यक्तिलाई मर्मत गरेर चलाउन भनेका हौ ।’

लामो समयदेखि प्रमुख बिहिन रहेको जिल्ला अस्पताल गोरखामा बेतिथी बढेको छ ।

Advertisement

जिल्ला एम्बुलेन्स समन्वय समिति भने कुनै पनि एम्बुलेन्स भाडामा चलाउन नपाइने बताउछ । एम्बुलेन्स सञ्चलन निर्देशिका २०७३ अनुसार सम्बन्धित निकायले दोस्रो ब्यक्तिलाई ठेक्कामा दिन नपाउने प्रावधान रहेको समितिको भनाई छ । ‘जसले किनेको हो त्यै संस्थाले चलाउनुपर्ने हुन्छ, ठेक्का दिनु गैरकानुनी हो’ समन्वय समितिका सदस्य सचिव समेत रहेकी स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङले भनिन् ।
यता एम्बुलेन्स ठेक्कामा लिएर चलाउदै आएका चालक हरिशरण गोदार थापाले भने अस्पतालले केहि समयका लागि आफुलाई जिम्मा दिएको स्विकार्छन् । २ लाख ४० हजार रुपैया ब्यक्तिगत लगानी गरेर एम्बुलेन्स मर्मत गरेको उनि बताउछन । ‘मर्मत गरेर चलाउनुस भनेर समितिले मलाई जिम्मा दिनुभएको हो’ थापाले भने ।
भदौसम्म जिम्मा पाएका उनलाई अस्पताल समितिले असोजबाट करारमा चालक राख्ने आश्वासन समेत दिएको थियो । तर मंसिर सकिन लाग्दा समेत समितिले एम्बुलेन्स जिम्मा नलिएपछि उनले नै चलाउदै आएका हुन् । ‘एम्बुलेन्स बनाएर ल्याउनुस तपाईको खर्च पनि दिउँला, करारमा तपाईलाई नै राखौला भनेका थिए’ थापाले भने ‘नियुक्तीपत्र मागेको माग्यै छु अहिलेसम्म दिनुभएको छैन ।’
एम्बुलेन्स ठेक्का प्राथा गोरखामा नयाँ भने होइन । जिल्ला अस्पतालसंगै अन्य केहि प्रतिष्ठान तथा सहकारीहरुले सञ्चालनमा ल्याएका झण्डै ६ वटा एम्बुलेन्स समेत हाल ठेक्कामा चलिरहेको स्रोत बताउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *