Tuesday, April 21

आगामी निर्वाचन इलामको क्षेत्र १ बाटै चुनाव लड्ने तयारीमा – सम्मानित नेता खनाल

नेपालअखबार, इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिने बताउनु भएको छ ।

गृहजिल्ला इलाममा सोमबार  पत्रकारहरूसँग कुराकानी गर्दै नेता  खनालले भन्नुभयो, ‘मैले चुनाव लड्नुपर्दा अर्को निर्वाचन क्षेत्र खोज्दिनँ, मैले निर्वाचन लड्ने क्षेत्र भनेको इलामको १ नै हो। यही क्षेत्रमा म आउँछु।’
खनालले जनताले चाहे आफू चुप लागेर नबस्ने बताउनु भयो । ‘राजनीतिमा सक्रिय भएको करिब ६० वर्ष भयो, जनताले अझै मेरो सक्रियता चाहन्छन् भने किन चुप लागेर बस्ने’ उहाँले भन्नुभयो  ।

Advertisement

खनाल २०४८ सालयता निरन्तर रूपमा इलामबाट चुनाव लडिरहनु भएको छ ।  ‘केन्द्रमा  गठबन्धन कायम राख्ने निर्णय भएको छ, त्यसैअनुसार सिंगो देशको चुनावी अभियान अगाडि बढ्छ,’ खनालले भन्नुभयो , ‘स्थानीय तह निर्वाचनमा जुन गठबन्धनको अनुभव भयो, मह जस्तो मीठो र नीम  जस्तो तीतो पनि भयो तर त्यो अनुभव अब विगत बनिसक्यो। त्यसबाट शिक्षा लिनुबाहेक केही गर्न सकिन्न।’