Friday, July 3

परिवारका सबै सदस्य अपांगता परिचयपत्रको भरमा

नेपाल अखबार, गलकोट । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो। आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपांगता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे।

Advertisement

पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो। उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ। सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन्। उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपांग छन्। आमालाई क्यान्सर रोगसमेत छ। लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ।

Advertisement
Advertisement

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन्। आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन।

Advertisement

‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बांगो छ, पाठेघरको क्यान्सर छ। आर्थिक अभावले उपचार गर्न सकिएको छैन’, उनले भनिन्, ‘भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु।’

बुवाबाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन्। गत साउन २९ गते सबै जनाको अपांगता  परिचयपत्र बनाएको उनले बताइन्।

‘सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ’, उनले  भने।

अपांगता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गाको भनाइ छ।

आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन्।

‘क’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपांगता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ। रासस