Tuesday, August 11

आज अटवारी पर्व मनाउँदै थारु समुदाय

नेपालअखबार । पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि  तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रही आएको छ ।

Advertisement

रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

Advertisement
Advertisement

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए । ‘यो पर्वमा विशेष गरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ,’ उनले भने, ‘यो पर्व तीन दिनसम्म मनाउँछौँ ।’

Advertisement

उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनी बिचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारु समुदायमा छ ।

थारु अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारु राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

पाँच पाण्डव र द्रोपदी सबै  सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् ।

यसैबीच पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो। रासस