Wednesday, April 22

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन

नेपालअखबार, एजेन्सि। पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता गोर्बाचोभको ९१ वर्षको उमेरमा मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको हो।

पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो। जसका कारण धेरै पटक अस्पताल भर्नासमेत हुनुपरेको थियो।

Advertisement

यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए। तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन।

गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ।

गोर्बाचोभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन्। उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।

सन् १९८५ देखि सन् १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनले सोभियत संघको पतन भने रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो।

उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन्। यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।

यस्तै युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेनले विश्वसनीय र सम्मानित नेता गुमाएको भन्दै  गोर्बाचोभले स्वतन्त्र युरोपको बाटो खोलिदिएको सम्झना गरे।

यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोभको साहस र इमानदारी देखेर आफू स्तब्ध भएको बताएका छन्।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचोभलाई उल्लेखनीय दृष्टि भएको व्यक्ति र एक दुर्लभ नेताको संज्ञा दिएका छन्।उनको निधनमा एक शोक वक्तव्य जारी गर्दै बाइडेनले भिन्न भविष्य सम्भव छ भनेर हेर्ने कल्पना र यसलाई प्राप्त गर्न आफ्नो सम्पूर्ण करियर जोखिममा पार्ने साहसी नेता रहेको बताए।

गोर्बाचोभले आफ्नो समयमा दुई वटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्‍यो। गोर्बाचोभले ‘ग्लासनोस्टको नीति’ र भाषणमा स्वतन्त्रताको नीति अपनाएका थिए। यसले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए।

‘ग्लासनोस्ट’ वा ‘खुलापन’ को नीति पछ्याउँदै सोभियत संघमा जनताले सरकारको आलोचना गर्ने अधिकार पाएका थिए। यो पहिले कहिल्यै कल्पना नगरेको कुरा थियो।

पश्चिमी देशहरूमा गोर्बाचोभलाई सुधारको पिता मानिन्छ। जसले अमेरिका-बेलायत र सोभियत संघ लगायत पश्चिमी देशहरू बीचको तनावलाई साम्य पारेका थिए। टकरावबाट भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ।

सन् १९९० मा गोर्बाचोभलाई पूर्व-पश्चिमको सम्बन्धमा ठूलो परिवर्तन ल्याउनको लागि उनले महत्वपूर्ण भूमिका निभाएको भन्दै नोबेल शान्ति पुरस्कारसमेत प्रदान गरिएको थियो। शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको नोबेल समितिको भनाइ थियो।